अमूर्त संस्कृतिको जगेर्ना



अमूर्त संस्कृति संरक्षण गर्नुपर्ने आवाज केही वर्षदेखि निरन्तररूपमा सुनिन थालेको छ । हुनत भौतिक सम्पदा संरक्षणको दाँजोमा अमूर्त संस्कृति संरक्षणको चर्चाले कमै प्राथमिकता पाएको अवश्य हो। यस अवस्थामा सुस्तरी परिवर्तन भई अमूर्त संस्कृतिको महत्वबारे बुझ्ने र बुझाउने प्रयास पनि विभिन्नस्तरबाट हुन थालेका छन् ।

परिणामस्वरूप अमूर्त संस्कृतिको संरक्षणतर्फ राज्यले दायित्व महसुस गर्न थालेको पछिल्ला उदाहरणले संकेत गरेका छन् ।पहिलो सन्र्दभ हो, काठमाडौं महानगरपालिकाले शुरुआत गरेको परम्परागत बाजागाजाका गुरुसम्मान । अमूर्त सम्पदा संरक्षणमा सम्बन्धित समुदायको जागरुकता, चेत, संरक्षणको पहिलो र महत्वपूर्ण सर्त हो ।

अहिलेसम्म जेनतेन सञ्चालन हुँदै आएको संस्कृति, परम्पराका लागि पहिलो श्रेय सम्बन्धित समुदायलाई जान्छ । संघ, प्रदेश र स्थानीय तहले अमूर्त संस्कृति संरक्षणमा समुदायको भूमिकालाई सम्मान गर्दै आवश्यक सहजीकरण गरिदिने मात्र हो । यस दिशामा भएको एउटा उदाहरणीय शुरुआतका रूपमा काठमाडौं महानगरपालिकाले परम्परागत बाजागाजाका गुरुहरुलाई सम्मानसहित वर्षेनी २५ हजार भत्ता दिने कार्यलाई लिन सकिन्छ ।

महानगरपालिकाले गत वर्ष महानगर दिवसको दिन शुरुआत गरेको सो कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्ष झन्डै एक सय ७० जना परम्परागत बाजागाजाका गुरुलाई सम्मानसहित भत्ता प्रदान गरिएको थियो । यसले अमूर्त संस्कृति संरक्षणकर्तामा आत्मसम्मान र उत्साहको भाव सञ्चार गरेको छ । यस कार्यलाई अरू स्थानीय तहले पनि उदाहरणका रूपमा लिन सकिन्छ ।

अर्को सन्र्दभ हो, कात्तिक नाच संरक्षणका लागि संघीय सरकार र स्थानीय तहबाट अक्षयकोषका लागि सहयोग गर्ने घोषणा । कात्तिक नाच मल्लकालीन समृद्ध संस्कृति र वैभवको नमुना हो । विश्वकै एउटा विकसित नाट्य परम्परा हो । सरोकारवालाले यसको संरक्षण र व्यवस्थापनका लागि दिगो स्रोत बनाउन १० करोडको अक्षय कोष बनाउने घोषणा गरेका थिए ।

यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोषमा संघीय सरकारबाट १० लाख रुपियाँ हाल्ने घोषणा गर्नुभएको थियो । कात्तिक नाच सञ्चालन भइरहेको बखत कात्तिक डबलीमा आउनुभई मन्त्री स्वयंले सोको घोषणा गर्नुभएको थियो ।

सोही अवसरमा ललितपुर महानगरपालिका–१६ ले पनि १० लाख रुपियाँ अक्षयकोषमा हाल्ने घोषणा गरेको दुई महिना नबित्दै ललितपुर महानगरपालिकाले एक करोड रुपियाँ हाल्ने घोषणा गरेको छ । प्रतिबद्धताअनुसार रकम जुट्ने हो भने कात्तिक नाचको निरन्तरतामा तत्कालका लागि खासै समस्या देखिँदैन ।

यस नाच विगतमा रकम अभावले कहिले बन्द हुने त कहिले पर्र्याप्त बजेट नहुँदा नाच धान्नै नसकिने अवस्थाबाट गु्रुज्रिएको थियो । यस अवस्थामा अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता संघ र स्थानीय तहबाट आउनु निकै सकारात्मक रहेको छ ।

अमूर्त सांस्कृतिक सम्पदाका विविध विधाका विषयमा शिक्षा, चेतना अभिवृद्धि र क्षमता विकास गर्न सबै सरोकार पक्ष तथा संघ, प्रदेश र स्थानीय गरी राज्यका तीनवटै तह र सरोकारवाला निकायले ध्यान दिने हो यसको संरक्षण हुनेछ । अमूर्त संस्कृतिको महत्वलाई बुझेर त्यसको सिर्जनात्मक निरन्तरताको सुनिश्चितता गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्