साइक्लिङमा नेपाललाई दोहोरो स्वर्ण


नेपाल समाचारपत्र, काठमाडौं ।
१३औंं सागअन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जितेको छ। पहिलो दिन बुधबार डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो। डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाएका थिए।

गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जिते। उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरे। पदक क्लिनस्विप गर्ने क्रममा नेपालले रजत र कांस्य पनि हात पार्यो। १ घण्टा १९ मिनेट ४० सेकेन्डमा राजीव राई दोश्रो तथा १ घण्टा २१ मिनेटमा ओकश वज्राचार्य तेश्रो भए।

महिलातर्फ १६ किलोमिटरमा दूरी नेपालकी लक्ष्मी मगर पहिलो भइन्। लक्ष्मीले १ घण्टा २० मिनेट २० सेकेन्ड समय खर्चिन्। नेपालकै उषा खनाल (१ घण्टा ३५ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा भारतकी प्रणिता प्रफुल (१ घण्टा ३६ मिनेट २९ सेकेन्ड) मा तेश्रो भए।

मल्लको शतकमा नेपालको कीर्तिमानी जित

१३औं सागअन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको छ।

त्रिवि मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालको बलि·मा पारस खड्काले २ विकेट तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १÷१ विकेट लिए।

यस अघि टस हारेर व्याटिङ गरेकोे नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३६ रनको योगफल तयार गरेको थियो। नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १ सय ७ रन बनाए। मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे। ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए। उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए। ऐरीले २७ बलमा २ छक्का र ४ चौका प्रहार गरे।

तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण

आयोजक नेपालले जारी १३औं साग अन्तर्गत् तेक्वान्दो खेलमा १२ स्वर्ण जितेको छ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो। भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो। पुरुष ८७ केजी तौलसमूह मुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन्। महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले ८–५ ले जित्दा नेपालकी अप्सरा कार्की स्वर्ण जित्नबाट चुकिन्। यस्तै मनिता शाही पनि भारतकी मार्गेरेट मारियासँग १५–० ले हार्दै स्वर्णबाट वंचित भइन्।

जुनीले जितिन् स्वर्ण
१३औं सागअन्तर्गत उसुमा जुनी राईले नेपाललाई थप स्वर्ण दिलाएकी छन्। बिहीबार भएको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन्।
लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा भएको प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराएकी हुन्। यो सँगै उसुमा नेपालको स्वर्ण संख्या ५ पुगेको छ।