सञ्जुले रचिन् इतिहास


नेपालकी सञ्जु चौधरीले १३ औं सागअन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन्।

महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन्। बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १ सय ७१ केजी भार बहन गर्दै तीनै स्पर्धामा राष्ट्रिय कीर्तिमानका साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्। प्रतियोगितामा श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १ सय ६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन्।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन्। उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन्। साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो। १०औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ।