प्रम ओलीको पछिल्लो उपचारमा साढे दुई २ लाख खर्च, मिर्गौला प्रत्यारोपण गर्न तत्काल नमिल्ने


नोपल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो उपचारमा कुल खर्च २ लाख ५४ हजार रुपियाँ खर्च भएको छ। त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको शल्यक्रिया र त्यसपछि आईसीयूमा बस्दाको औषधी खर्च त्यति लागेको जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली १० दिनको उपचारपछि बिहीबार डिस्चार्ज हुनुभएको छ। अस्पतालबाट बाहिरिने क्रममा उहाँले स्वास्थ्यमा सुधार आएकाले घर जान लागेको बताउनुभयो। बिहीबार दिउँसो ४ बजे डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओली सीधै बालुवाटार जानुभएको थियो।

उहाँ यही मंसिर १० गते पेटको दुखाइका कारण उक्त अस्पताल भर्ना हुनुभएको थियो। प्रधानमन्त्री ओलीको परीक्षणपछि तत्काल एपेन्डिसाइटिस र त्यसबाट फैलिएको संक्रमण भएको कारण शल्यक्रिया गरिएको थियो।

उहाँको उपचारमा प्राडा रमेशसिंह भण्डारी नेतृत्वको विशेषज्ञ टोली सम्मिलित थियो। उक्त टोलीले परम्परागत विधिबाट सघन उपचार कक्षमा राखेको थियो। उहाँको पेटमा संक्रमण फैलिन सक्ने कारण परम्परागत विधिबाट शल्यक्रिया गर्नुपरेकाले घाउ निको हुन बढी समय लाग्ने चिकित्सकहरूले बताएका छन्।

उपचारमा संलग्न वरिष्ठ चिकित्सक प्राडा अरुण सायमीले प्रधानमन्त्रीको अवस्था १० दिनअघि चिन्ताजनक भए पनि अहिले ठीक रहेको बताउँदै भन्नुभयो– ‘अब प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको नियमित जानकारी लिन मेडिकल टिम निवासमै जान्छ।’ उहाँका अनुसार प्रधानमन्त्रीको मुटु र फोक्सोका साथै शल्यक्रिया गरिएको घाउ राम्रो हुँदै गए पनि तत्काल मिर्गाैला प्रत्यारोपण गर्न नमिल्ने बताउनुभयो।

प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिई फर्किनुभएको थियो।