बल्ल पुग्यो अनुदानको चामल सोरुकोट डिपोमा


बीरबहादुर बम, मुगु ।

मुगुको सोरु गाँउपालिकामा पाँच महिना बितिसक्दा पनि ठेकेदारले अनुदानको खाद्यान्न ढुवानी नगरेको समाचार नेपाल समचार पत्रमा प्रसारण भएको ४ दिनभित्र सदरमुकामबाट बिकट सोरुकोट खाध्य डिपोमा बल्ल तल्ल खाद्यान्न पुगेको छ।

नेपाल सरकारबाट उपलब्ध खाद्यान्न ठेकेदारले समयमा नै ढुवानी नगरेपछि स्थानीयहरू बजारबाट चर्को मूल्यको खाद्यान्न किनेर खान बाध्य थिए। प्रति केजी ८० देखि एक सय २० सम्म मूल्य तिरेर स्थानीयले बजारको खाद्यान्न किनेर दैनिक भोकमरीको जोह गरेका थिए।

गमगढीबाट सोरुकोट डिपोसम्मको लागि एक हजार क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा लिएका जुम्लाको कनकसुन्दरी–३ बस्ने ठेकेदार सर्जन बुढाले अहिले २ सयभन्दा बढी खाद्यान्न सोरुकोट पुर्याइसक्नु भएको छ। साथै अन्य बाँकी ८ सय क्विन्टल नियमित ढुवानी भैरहेको छ।

चार, पाँच दिनमा सबै खाद्यान्न पुर्याउने लक्ष्य रहेको ठेकेदार बुढाले बताउनुभयो। विगत दिनहरूमा नदीको बहाव बढेको हुँदा ट्याक्टरले नदी तार्न नसकेकोले खाद्यान्न ढुवानीमा ढिलाइ भएको उहाँले बताउनुभयो।

सोरुकोटमा पहिलोपटक ट्याक्टरसहित खाद्यान्न लिएर पुगेका ठेकादार बुढालाई सोरु गाँउपालिकाको कार्यालय र स्थानीयबासीले भव्यका साथ स्वागत गरेका छन्। खाद्यान्न पुर्याएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।

सदरमुकाम गमगढीबाट ३५ कोष टाढाको सोरुकोट स्थित खाद्य ढिपोमा खाद्यन्न पुगेपछि बजारमा ३ हजार पर्ने ३० केजी चामल अब स्थानीयले १५ सय मूल्य तिरेर अनुदानमा चामल पाउँने भएका छन्। अब ३ हजारमा २ बोरा चामलले आफ्नो ३ महिनाको भोकमरीको गर्जो टर्ने प्रतिक्षामा रहेको कुरा सोरु गाउँपालिका ६ का गंगासिह नेपाली बताउनुभयो।

सोरु गाउँपालिकाका ११ वटा वडाका बासिन्दालाई भोकमरीको समस्या समाधान गर्न सोरुकोट डिपोमै सरकारी अनुदानको चामल पाउँने व्यवस्था गरिएको कोही पनि सरकारी अनुदानको चामलबाट बञ्चित नहुने कुरा सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताउनुभयो।

सदरमुकाम गमगढ स्थित खाद्य डिपोबाट मुगुको सोरु गाउँपालिकाका लागि हाल तारापानी हुँदै सोरुकोट गाउँपालिकाको बस्तीसम्मका सर्वसाधारणका लागि खाद्यान्न ढुवानी भई रहेको कुरा मुगु खाद्य संस्थानका कर्ण बहादुर रावलले बताउनुभयो।