राप्रपा हिडेको बाटो कठिन भएपनि सहि छ: अध्यक्ष थापा


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष थापाले नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सहि, उपयुक्त तर कठिन रहेको बताएका छन् ।

स्वदेश विदेश जहाँ गएपनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिडेको भन्छन, अध्यक्ष थापाले भन्नुभयो “राप्रपाले हिडेको बाटो सजिलो छैन कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिडेको बाटो सहि र उपयुक्त छ, हामी आम नेपालीलाई यसबारे बुझाउँदै हिडिरहेका छौं, एकदिन सबैलाई बुझाउन सफल हुनेछौं, हाम्रो निष्ठा र आदर्शमा शंका नगर्न आग्रह गर्दछु ।“

नेपालमा पटकपटक आन्दोलन र परिवर्तन भएको तर पटकपटकका अभ्यास असफल हुँदै गइरहेका छन् भन्दै अध्यक्ष थापाले नेपालमा नेपाली मात्रको प्रयासले अर्को एउटा राष्ट्रवादी आन्दोलनको खाँचो रहेकोमा जोड दिनुर्भको थियो ।

राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टी भन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले देशमा डरलाग्दो ठूला ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । हरेक काण्डमा स्वतन्त्र र स्वाभिमानी जनता भन्दा पार्टीको कार्यकर्ता भएर निर्णय गर्दा, निर्वाचनमा मतदान गर्दा नागरिक आवाज कमजोर हुँदै गएको र अब यो अवस्थाको अन्त्य हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभएको थियो ।

समारोहमा राप्रपाका प्रवास संघका प्रमुख, सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले विदेशमा राष्ट्रियताको भावना प्रचुर रहेको बताउँदै राष्ट्रवादी आन्दोलनमा प्रवासको साथ, सहयोग र समर्थन रहने उल्लेख गर्नुभएको छ ।कार्यक्रममा प्रवासी नेपाली एकता समाजका नेताहरू प्रेम चौलागाईं, लोकनाथ तिवारी, दिपु भुषाल, राजेन्द्र शेरचन, राधा शर्मा, मेरिल्याण्ड स्टेट काउन्सिलका डेलिगेट हरि भण्डारी, महावाणिज्यदूत एवं चर्चित लोक गायक प्रेमराजा महत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले बोस्टन निवासी राजेन्द्र शेरचनलाई अध्यक्ष, दिपु भुषाल, राधा शर्मा, नरेन्द्र शाहलाई उपाध्यक्ष, नवराज खड्का महासचिव, नरेन्द्र रावल सचिव र रामशरण श्रेष्ठलाई कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् । अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासमा आयोजना भएको नेपाली समुदायसंगको छलफल र अन्तरक्रियामा सहभागी हुनेछन् ।

यसैगरी अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्रा्ष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।