सहअध्यक्ष श्रेष्ठको भनाईः मन्त्रालय परिर्वतन हुँदैमा सरकार छाडेनौं


न्युज अफ नेपाल , काठमाडौं ।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मन्त्रालय परिर्वतन हुँदै सरकार छाड्नुपर्ने अवस्था नदेखिएको बताउनुभएको छ ।

सानो भ¥याङस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले पार्टीको भागमा परेको स्वास्थ्य मन्त्रालय खोसेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय दिँदैमा खासै फरक नभएको पनि बताउनुभयो ।

‘आकर्षक मन्त्रालय पाउँदैमा सरकारमा बस्ने, नीतिगत मन्त्रालय पाए सरकार छाड्ने भन्ने कुरा आफैमा युक्तिसंगत छैन । तर मन्त्रालय हेरफर गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दललाई जस्तो व्यवहार ग¥यो, त्यो भने सहकार्यको भावना विपरीत हो । यस विषयमा प्रधानमन्त्री ओली स्वस्थ्य हुनुभएपछि कुराकानी गर्ने छौं ।’ सहअध्यक्ष श्रेष्ठले भन्नुभयो ।

आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा मात्र सरकारमा गएको बताउँदै उहाँले संविधान संशोधन हुने अवस्था लगभग क्षीण भएमा मात्र पार्टी सरकारबाट बाहिर पनि स्पष्ट पार्नुभयो । ‘तर तत्काल सरकारबाट पार्टी बाहिरिने छैन । संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसंग गम्भीर रुपमा कुरा राख्ने छौं ।’ उहाँले भन्नुभयो ।

हाल पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष एवं उपप्रधानमन्त्री यादवबीच प्रधानमन्त्री ओलीको कार्यशैली र संविधान संशोधन बारे गम्भीर रुपमा छलफल भइरहेको पनि सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले राज्यसत्तामा सबैको पहुँच, प्रतिनिधित्व, पहिचानको लागि संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने पार्टीको अडान यथावत रहेको पनि बताउनुभयो ।

अहिले संघीयताका नाउँमा एकात्मक शासन लागू गर्न खोजेर संघीयतालाई अफाससिद्ध बनाउन षडयन्त्र भइरहेको बताउँदै सहअध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ संघीयता समाप्त पार्नु भनेको संविधान नै धरापमा पार्ने हो ।’ संघीयताको अभ्यासलाई सार्थक बनाउन संविधान संशोधन गर्नुपर्ने खाँचो पनि उहाँले औल्याउनुभयो ।