अन्त उपनिर्वाचनः मकवानपुरका मतदाता हेरेको हेर्यै


न्युज अफ नेपाल, हेटौंडा ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि शनिबार उपनिर्वाचन हुँदा मकवानपुरको भीमफेदी गाउँपालिकाको एक वडाले भने नयाँ अध्यक्ष पाएन ।

अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा परेर भाग्यमानी बन्दै गाउँपालिकाका वडा अध्यक्ष अमेरिका पुगे पनि उक्त वडाका बासिन्दा भने अभागी देखिए । उनको राजीनामापछि पनि स्थानीयले पुनः मताधिकार प्रयोग गर्न पाएनन् ।

‘पारिवारिक व्यबस्थापनका लागि’ भन्दै अमेरिका पुग्नुभएका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का जननिर्वाचित अध्यक्ष जगत्मान घिसिङको राजीनामापत्र गाउँपालिका कार्यालयमा आइपुगे पनि उक्त क्षेत्रमा उपनिर्वाचन टरेको हो ।

ब्यापक जन दबाबपछि वडा अध्यक्ष घिसिङले अमेरिकाबाट राजीनामापत्र गाउँपालिका कार्यालयमा पठाउनुभएको थियो । उहाँले करिब ७ महिनापछि राजीनामा पठाउनुभएको हो । उहाँले समयमै राजीनामापत्र नपठाउँदा र यस्तो आकस्मिक अबस्थामा मन्त्रिपरिषद्ले निर्णय नगर्दा उक्त क्षेत्रमा वडा अध्यक्षको पद नै रिक्त भएको छ । उपनिर्वाचन टरेपछि मात्र वडा अध्यक्षको राजीनामा आएको हो । उहाँले भदौ १ गतेदेखि लागु हुने गरी सोही मितिमा राजीनामापत्र लेख्नुभएको थियो ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीय विकास निर्माणलगायत काम/कारबाहीमा प्रभाव परेको स्थानीयको भनाइ छ ।

वडा अध्यक्षले आफू दशैंअघि नेपाल फर्किने मौखिक जानकारी दिनुभएको थियो । तर, अमेरिकास्थित नेपाली दुताबास वासिङ्टन डीसी, सनफ्रान्सिस्को कन्सुलर सेवा टुरमुकामका प्रथम सचिव कुमार सुबेदीले प्रमाणित गरेको पत्र आइपुगेको छ । घिसिङले दुतावास कार्यालयमा स्वयम् पुगेर राजीनामापत्रमा सहीछाप र सनाखत गरेको उक्त पत्रमा उल्लेख छ । राजीनमापत्र भदौ १४ गते दुतावासमा दर्ता भएको देखिन्छ ।

गाउँपालिका अध्यक्ष हिदम लामाले जननिर्वाचित वडा अध्यक्षको राजीनामा गाउँपालिका अध्यक्षले स्वीकृत गर्ने कार्यविधिमा उल्लेख नभएकोले आफूलाई समस्या परेको बताउनुभयो ।
प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसँग अध्यक्ष पद रिक्त रहेकोले शनिबारका लागि तोकिएको उपनिर्वाचनमा उक्त वडामा पनि निर्वाचन गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो ।

नेता बानियाँले डीभी परेर अमेरिका गएका वडाअध्यक्ष घिसिङले राजीनामा पठाइसकेकोले तत्काल मन्त्रालयलाई निर्वाचन गराउने पहल गर्न गरेको आग्रह सुनुवाइ भएन । मकवानपुरबाटै प्रदेशसभा सदस्यमा निर्वाचित नेता बानियाँले भन्नुभयो–देशभर उपनिर्वाचन हुँदा मकवानपुरमा नहुनुले राम्रो सन्देश गएन । यसले लोकतन्त्र र प्रजातन्त्रको खिल्ली उडाएको छ । ‘स्थानीयको आग्रह र दबाब हुँदा पनि उपनिर्वाचनतर्फ गाउँपालिका सक्रिय नहुनु राम्रो होइन,’ बानियाँले भन्नुभयो ।

वडाका स्थानीयले उपनिर्वाचन गराउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय मकवानपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय तथा गाउँपालिकामा निबेदन दर्ता गराएका थिए ।

वैशाख ३१ गते सम्पन्न संघीय लोकतान्त्रिक नेपालको प्रथम स्थानीय तह निर्वाचनमा विजयी भएर घिसिङले जेठ ६ गते पदभार ग्रहण गर्नुभएको थियो । कर्मचारीलाई डीभी परेर गए स्वतः जागिर छोड्नुपर्ने व्यबस्था छ । तर, जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने स्पष्ट कानुन छैन । जनताका सेवाका लागि निर्वाचित व्यक्ति विदेशकै नागरिक हुने गरी जान पाउने कि नपाउने भन्ने बहस हुने गरे पनि यसबारे ठोस कानुनको अभाव छ ।

तत्कालीन नेकपा एमालेबाट उठ्नुभएका घिसिङले ५ सय १४ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको थियो । उहाँका प्रतिस्पर्धीहरु राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार बिश्वकर्माले १ सय ९१ मत ल्याउनुभएको थियो ।