धुलिखेलको रविगाउँमा उपनिर्वाचनको रौनकः ५ घण्टामै ५० प्रतिशत मत खस्यो


मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्बर २ मा भएको उपचुनावमा मतदान शुरु भएको ५ घण्टामा ५० प्रतिशत मत खसेको छ । १ हजार ८ सय ७७ मतदाता मतदाता मध्ये ८ सय ६० मत दिउँसो १२ बजेसम्म खसेको मतदान अधिकृत ठाकुर त्रितालले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिका वडा नम्बर २ को निर्वाचनका लागि क र ख दुईवटा मतदान केन्द्र सेतिदेवी मावी माझथुममा कायम गरिएको छ । क बुथमा क्रस १ देखि ९५२ सम्मका मतदाताहरुले मतदान गर्नेछन् भने ९ सय ५३ देखि १८ सय ७७ मतदातालाई ख मतदान केन्द्रमा मतदानको ब्यवस्था गरिएको छ । नेकपा र नेपाली कांग्रेसका दुबै उम्मेदवार देवप्रसाद कोईराला र दर्णबहादुर क्षेत्री दुवैले क मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदाताहरुको उल्लासमय सहभागिता रहेको मतदान अधिकृत सन्तोष कटुवालले जानकारी दिनुभयो । विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन हुनेछ । मतदान सकिए लगत्तै मतगणना धुलिखेल सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालका अनुसार मतदान सकिए लगत्तै मतगणनाको आवश्यक प्रकृया पुरा गरिएको छ । वडा अध्यक्षका लागि ४ दलले उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि २०७६ साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ७७ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो ।

खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।

अहिले नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकिकरण भए पछि उत्त मत बढ्ने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो । २ वर्षमा ४३ जना मतदाता मात्रै थपिएका छन् । नयाँ मतदाता १२ जनाले मतदाता परिचयपत्र लिएका थिए ।

२०७६ कार्तिक २० गते बुधबार धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।