३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी, २५ प्रतिशत मतदान सकियो


न्युज अफ नेपाल, काठमाडौं ।

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचनका लागि मतदान गर्ने क्रम जारी छ ।

७ बजेदेखि सुरू भएको मतदानमा बिहान १२ बजेसम्म समग्रमा २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ ।  मतदान साँझ पाँच बजेसम्म रहनेछ ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ ।

विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बाग्लुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।