मिलेर हत्या गरेको थाहा भएपछि निलम्बित !


विमल विष्ट, डोटी ।

डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले निलम्बन गरेको छ ।

यहि मङ्सिर ८ गते आइृतवार जोरायल गाउँपालिका–४ घर भई कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई जना प्रहरी जवान बिरुद्ध कुटपिट गरेर मारेको भन्ने किटानी जाहेरी परेकाले आवस्यक अनुसन्धान गर्नका लागि निलम्बन गरी छानविन गर्दै छौँ ।’

मृतका बुवा तिलक सिंह पालीले प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तले प्रहरी हिरासतमा रहेको आफनो छोरा गणेश लाई कुटेर मारेकोे भन्दै उनिहरुका नाममा कर्तब्य ज्यान शीर्षकमा किटानी जाहेरी दिएका छन् ।

सोही घटनाको सन्दर्भमा प्रहरी कार्यालयले द्धय जवानलाई पक्राउ गरी निलम्बन गर्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । पाली डोटीको गैराका उधव सिंह सेठीको से १ ज २९२ नम्बरको जीपका चालक हुन् ।

उहाँको शव डडेल्धुरा अस्पतालमा आज पोष्टमार्टम गरी सव परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

आरोपित प्रहरी जवानलाई पक्राउगरी निलम्बन गरिए संगै स्थानियबासीले बुधवार देखी गैरामा गरेको बन्द समेत फिर्ता लिएका छन् ।