देउवामाथि प्रचण्डको कटाक्षः देवघाट जानुपर्नेलाई चुनावमा उठाएर ६५ वर्षका प्रधानमन्त्रीलाई रेस्ट गर्नु भन्‍ने ?


न्युज अफ नेपाल, पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कास्कीका उमेद्वार खेमराज पौडेललाई देवघाटतिर जानेबेलामा कांग्रेसले चुनावमा उठाएको आरोप लगाएका छन्।

बुधबार नेकपा कास्कीले गरेको चुनावी सभालाई सम्बोधन हेलिकोप्टरमार्फत् पोखरा आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षका बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन्।

त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त?’ प्रचण्डले केही दिनअघि कास्कीमै आएर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको भनाईलाई खण्डन गरे। ‘प्रधानमन्त्रीज्यूले डाकेको बैठकमा म प्रधानमन्त्रीज्यूको देब्रेपट्टी छु, शेरबहादुरजी दाहिनेपट्टी हुनुहुन्थ्यो।

मैले उहाँले भनेको राम्रोसँग सुनेको छु। उहाँले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठीक छ, धन्यावाद। तपाईंले लिएको राष्ट्रियताको अडानमा हाम्रो पुरै सहयोग छ भनेको पनि मेरो कानमा टिनिनन बजिरहेको छ,’ उनले भने, ‘त्यस्तो मान्छेले पोखरामा आएर सल्लाहले नक्सा छापेको हो भने भन्दा लाजमर्दो कुरा के हुन सक्छ ?’ उनले कांग्रेसलाई आत्मसमीक्षा गर्न सुझाव दिए। कांग्रेस पनि संविधान निर्माणको सहयोगी सहयात्री भएकाले झुट बोलेको आफूलाई मन नपन प्रचण्डको भनाइ थियो।