नेकपाका वडाअध्यक्षले रक्सीको तालमा कार्यकर्ता कुटे


न्युज अफ नेपाल, दाङ ।

नेकपाका वडाध्यक्षले रक्सीले मातेर कांग्रेसका कार्यकर्ता कुटेका छन् ।

तत्कालीन एमालेबाट निर्वाचित बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देवकोटा र सुरेश खड्कालाई मंगलबार बेलुकी रक्सीले मातेर कुटपिट गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपाका नेताहरुसहित इलाका प्रहरी कार्यालयका पञ्चकुलेमा दोषी अध्यक्ष डाँगीले बुधबार बिहान छलफल गरी सार्वजनिक रुपमा माफी मागेका छन् । रक्सी पिएका बेला गल्ती भएको भन्दै माफी माग्दै अबदेखि यस्ता गल्ती नदोहोर्‍याउने सहमति भएको कांग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि सोमबार बेलुका तुलसीपुर–१० गौरीगाउँमा नेकपाका कार्यकर्ताले बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर–११ हस्नापुरका नेविसंघका कार्यकर्ता कृष्ण बस्नेत घाइते हुनु भएको थियो । घाइते बस्नेतलाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

टाउकोमा बियरको बोत्तलका सिसा बिझेको आशंका भएकाले सिटी स्क्यान गर्न नेपालगन्ज रेफर गरिएको प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।