गूर्जाका पर्यटकीय तालहरु ओझेलमा


प्रताप बानियाँ, म्याग्दी ।

भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारणले गर्दा पर्यटकीय सम्भावना बोकेका दुईवटा तालहरु ओझेलमा परेका छन् । अग्ला पहाडको बिचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल र आसपासको समथर भू–भागमा प्रकृतिले अनुपम सुन्दरता भरिएका गूर्जाको वार्मीपार्मी र बराहतालको प्रचारप्रसार हुन नसकेको हो ।

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २६ कोष टाढा पश्चिममा रहेको धवलागिरि गाउँपालिका–१, गूर्जा गाउँबाट कहालीलाग्दो उकालो/भिरालो पहाडमा कष्टपूर्ण यात्रापछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन् ।

ढोरपाटन शिकार आरक्षको घुस्तुङ व्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुईवटा ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् । समुन्द्री सतहदेखि करिब ४ हजार ५ सय मिटरको उचाइमा अवस्थित म्याग्दी र रूकुम जिल्लाको सीमा क्षेत्र नजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारीसहित कर्मचारीहरू पुग्ने गर्दछन् ।

मौसम अनुसार वार्मीपार्मी र बराहतालमा पानीको रङ फेरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको गूर्जाका स्थानीय केआईसिङ छन्त्यालले जानकारी दिए । उनले तालसम्म पुग्न गाह्रो भए पनि पहाडभित्र लुकेका तालको धार्मिक महत्व समेत रहेको बताएका छन् । गूर्जावासीले दशक अगाडि आवतजावत गर्ने उक्त स्थान हुँदै चुरेन हिमाल नजिकैबाट देखिन्छ ।

उक्त क्षेत्रमा थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चले जङ्गली जनावरहरु पाखामा चर्ने गरेको दृष्यले त्यहाँ पुग्नेलाई लोभ्याउने गरेको स्थानीयवासी बताउँछन् । पशु चौपायाको गोठ लिएर त्यहाँसम्म पुगिने हुँदा हेपुडाँडालाई रुकुमवासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यमका रुपमा विकास गर्न सकिन्छ । अत्यधिक जङ्गली जनावरहरू पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्षकै प्रख्यात स्थल समेत रहेको बताइएको छ ।

गूर्जा गाउँदेखि स्थानीय निकै कठिनका साथ पहिलो दिन मनसुङ भन्ने ठाउँमा बास बसेर अर्को दिन त्यहाँ पुग्न सकिने धौलागिरी गाउँपालिकाका प्रवक्ता समेत रहेका गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ग्रामीण पर्यटनका लागि सुन्दर स्थान भएकाले मानव वस्तीबाट धेरै टाढा जङ्गली जनावरलाई आँखै अगाडि देख्न सकिने भएको बताउँदै उनले बाटोको असहजताले गर्दा यसको सम्भावना हराउन थालेको गुनासो गरे । आरक्षबाट बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित शिकारीहरु गएर त्यस क्षेत्रमा बस्ने गर्दछन् ।

खर्चिलो र साहसी शिकारीहरूले विदेशमा दुईवटै तालको प्रचारप्रसार समेत गर्ने गरेको बताइएको छ । नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, बन्यजन्तु जस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिन आवश्यक देखिन्छ ।

यस स्थानबाट रुकुम जिल्लाको चालुखे भन्ने ठाउँमा पुग्न सकिन्छ । त्यहाँबाट दोगानी, डोबान हुँदै लम्सार भन्ने ठाउँमा प्रमुख आयस्रोत मानिने यार्सागुम्बा पाइन्छ । अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने स्थानीय बासीन्दाको माग छ ।