गाउँमा रिक्सा पुगेपछि स्थानीय खुसी



नेपाल समाचारपत्र, प्यूठान। 

प्यूठान नगरपालिका–४ मंग्राखोलाका ३९ वर्षीय अमरबहादुर थापा भारतबाट फर्केर आफ्नै इलममा रमाउनुभएको छ। उहाँले पैसा कमाउनका लागि ७ वर्ष त्यहीँ बिताउनुभयो। काम गर्दा पनि साहुको गाली र तनाव उहाँलाई मन परेन। खासै कमाइ पनि भएन। त्यसपछि घर फर्कने निधो गर्नुभयो।

फर्किसकेपछि के गर्ने भन्ने मेलोमेसो पाउनुभएको थिएन।उहाँले तीन पांगे्र अटो रिक्सा किनेर चालउने निधो गर्नुभयो। उहाँले गाउँ फर्केर ६ लाख रुपियाँको अटो रिक्सा किस्तामा किन्नुभयो। विगत ६ महिनादेखि उहाँलाई बिजुवार क्षेत्रमा दिनहुँ अटो रिक्सा दौडाइरहेको देख्न सकिन्छ। हिजो आज उहाँको दैनिकी रिक्सा हाँक्दै बित्छ। 

यात्रुको खोजीमा उहाँ अटो हाँक्दै सबैरै निस्कनुहुन्छ। दिनभरि यात्रुलाई गन्तव्यसम्म पुर्याउनुहुन्छ। साँझ घर फर्किनुहुन्छ। दैनिक आम्दानीले उहाँको घरपरिवारको खर्च चल्छ। ‘के गर्नु, गरी खान त पर्यो नि’, थापाले भन्नुभयो– ‘आम्दानीको बाटो छैन, त्यही भएर रिक्सा चलाइरहेको छु।’

सबै खर्च कटाएर अहिले मासिक ६० हजार बढी बचत गर्ने थापाले सुनाउनुभयो। अटोको मासिक ११ हजार ५ सय किस्ता चुक्ता गर्दै आएका उहाँले जानकारी दिनुभयो।

‘अटोले आम्दानी मात्र होइन, सन्तुष्टिसमेत मिलेको छ,’ थापा भन्नुहुन्छ– ‘आफै मालिक आफै चालक हुँ, न कसैको गाली न अपमान सहनुपर्छ। अर्काको मुलुकभन्दा यतै धेरै ठिक। ‘परिवारसँग बस्न पाइयो, उहाँले थप्नुभयो– ‘खेतीपातिमा सघाउन पनि सकियो ।’

थापा जस्तै नौबहिनी गाउँपालिका डाम्रीका अर्का ३५ वर्षीय करण सुनार पनि अटोरिक्साका मालिक हुनुहुन्छ। उहाँ पनि आफै आफ्नो अटो चलाउनुहुन्छ। आफ्नो आधा उमेर भारतमा बिताएका सुनारले अटो रिक्साबाट गाउँमै राम्रो आम्दानी भएको बताउनुभयो।

‘आफ्नो परिवारसँगै बस्न पाइएको छ, उहाँले भन्नुभयो– ‘स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश किन जानुपर्यो?’ सुनारले अटोबाट महिनाको ३० हजार रुपियाँ आरामसँग कमाइने बताउनुभयो।
दुर्गममा पनि सडकको पहुँच पुगेपछि बस, जिपलगायतका साना ठूला सवारी नियमित गुढ्न थालेका छन्।

अहिले यहाँ बस, जिपसँगै अटोरिक्सासमेत नियमित चलेपछि यात्रुलाई सजिलो भएको छ। सरुमारानी–६ का टंकबहादुर उलुङेले भन्नुभयो– ‘त्यसले सुविधा थपिएको छ, गाउँबाट तरकारी, मह, अदुवा, बेसार बजार पुगेको छ।’

अटो सुविधाले आउजाउसँगै गाउँमा सामग्री ढुवानी गर्न, खाद्यवस्तु भित्रयाउन, गाउँमा उत्पादित वस्तु निर्यात गर्न र बिरामीलाई छिटो अस्पताल पुर्याउन राहत भएको उहाँले बताउनुभयो। प्यूठानमा दुई वर्षदेखि अटोरिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको हो। ठूला सवारी नपुगेका गाउँघरका बाटोमा पनि अटोरिक्सा पुग्ने गरेका छन्।

५ लाखदेखि ७ लाखको लागतमा अटो खरिद गरेर प्यूठानका झन्डै १ सय युवाले घरमै मासिक ३० देखि ६० हजार आम्दानी गर्न सफल भएका छन्। वैदेशिक रोगजारीबाट फर्केका युवाहरू अहिले गाउँमै अटो चलाएर स्वरोजगार बनेका छन्। हाल प्यूठानमा ६० भन्दाबढी अटो सञ्चालनमा छन्।

 

प्रतिक्रिया दिनुहोस्