जिल्ला समन्वय समितिमा कर्मचारीको अभाव, अनुगमनकाे नाममा धुलो उडाएर हिड्ने स्थिति

0
Shares

सरोज यादव , विराटनगर ।

जिल्ला समन्वय समितिका प्रमुखहरुले कार्यालयमा कर्मचारीको अभावका कारण आफूहरुलाई दिएको जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन । १ नं प्रदेश सभा, सुशासन तथा योजना समितिले शुक्रबार प्रदेश सभामा आयोजना गरेको सुशासन तथा योजना सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनीहरुले संविधानले जिल्ला समन्वय समितिले तिनै तहका सरकारले गरेको विकास निर्माणका कामको अनुगमन गर्ने अधिकार दिएपनि आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको बताएका हुन ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले आवश्यक जनशक्तिको अभावमा विकास निर्माणको अनुगमन गर्ने नाममा आफुहरु धुलो उडाएर मात्र हिड्ने स्थितिमा अहिले रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिभएर आएपनि आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको गुनासो गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले तिनै तहका सरकारले कानून निर्माण गर्ने कुरामा नै नीतिगत भष्ट्रचार अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । ‘हामीले बिकासको परिभाषा फेर्न पर्छ,‘ पोर्तेलले भन्नुभयो ,‘विकास निर्माण भनेको भौतिक संरचना निर्माणलाई मान्न हुन्न,जनताले खाना पाउन,लाउन पाउने लगायतका आवश्यक कुरालाईपनि अब बिकासमा समेटन आवश्यक छ ।’

कार्यक्रममा गाँउपालिका महासंघका प्रदेश १ का अध्यक्ष ताराबहादुर काफलेले संघीय सरकार र प्रदेश सरकारले आवश्यक कानून निर्माण गरेपनि त्यसलाई व्यवस्थित गर्ने काम नहुदा सुशासन कायम गराउने कुरामा समस्या रहेको बताउनुभयो ।उहाँले प्रदेशबाट जाने योजनाहरु स्थानीय तहलाई समेत थाहा नहुने अबस्था अहिलेपनि रहेको बताउनुभयो । कार्यक्रममा १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामूहिक प्रतिबद्धताका साथ भष्ट्रचार ढिला सुस्ती अन्त्यका लागि सबै पक्ष प्रतिबद्ध भएर अगाडि बढनु पर्ने बेला आएको बताउनुभयो । उहाँले सुशासन कायम गराउने कुरामा पहिला व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठ्न जरुरी रहेकोमा समेत जोड दिनुभयो ।