विद्यार्थी व्यवस्थापन गर्ने तरिका



असल शिक्षकको पहिलो पहिचान प्रभावकारी कक्षा व्यवस्थापन हो। एउटा शिक्षक विद्यार्थीलाई पढाउँछु भनेर कक्षाभित्र प्रवेश गरेपछि ननिस्कँदासम्मको करिब ४५ मिनेटको कक्षाभित्रको व्यवस्थापनलाई नै खासमा यहाँ कक्षा व्यवस्थापन भन्न खोजिएको हो। विषयवस्तु शिक्षण गर्नुपूर्व कक्षा व्यवस्थित हुनु अनिवार्य हुन्छ।

अव्यवस्थित कक्षाकोठामा गरिएको शिक्षण पनि अव्यवस्थित र निरर्थक सिद्ध हुन्छ। तसर्थ, शिक्षकले कक्षालाई व्यवस्थित बनाउनु अनिवार्य हुन्छ। कक्षा व्यवस्थापनभित्रको सबैभन्दा मुख्य व्यवस्थापन भनेको विद्यर्थीको बसाइ व्यवस्थापन हो। कक्षाभित्र बालबालिका सहज र व्यवस्थित तरिकाले बसेको हुनुपर्दछ। शरीरको प्रकृति सानो भएका, आँखा कमजोर भएका वा कान कम सुन्ने वा अन्य कुनै शारीरिकरुपले अशक्त बालबालिकालाई अगाडि राख्नुपर्दछ।

यसो गर्दा यी बालबालिकाले शिक्षकले पढाएका कुरा सजिलै देख्न, सुन्न र महसुस गर्न सक्दछन्। डेस्कबेन्चहरू राम्ररी मिलेका, अगाडिपट्टि राखिएको हरियो, सेतो वा कालोपाटी पछाडिसम्मका सबै बालबालिकाले राम्ररी देख्न सक्ने हुनुपर्दछ। कोठामा धेरै गर्मी पनि नहोस् र जाडो पनि नहोस्।

बीचमा शिक्षक वा विद्यार्थी सहजरुपले आवतजावत गर्न सक्ने गरी खुकुलो गरेर डेक्सबेन्चहरू राख्नुपर्दछ। अति चिसोको मौसममा बाहेक कोठाका झ्यालहरूबाट सहजरुपमा हावा खेलेको राम्रो हुन्छ। कक्षाकोठामा बढीमा ४० जनासम्म बालबालिका हुँदा राम्रो हुन्छ।

सरसफाइ कक्षाकोठाको दोस्रो महत्वपूर्ण व्यवस्थापनभित्र पर्दछ। शिक्षक कक्षामा पुग्दा कक्षाकोठामा सबैतिर कागजैकागज, डेस्कबेन्च दशतिर फर्किएका, केटाकेटीले खाएका चकलेट, चुइङ्गमका खोल, काटेफाटेका कागजका टुक्रा आदि जताततै फ्याँकिएका, झ्यालढोकातिर पनि माकुराको जालो लागेको, कक्षाकोठाका कुनाकाप्चामा लामखुट्टे उडिरहेको, अगाडिको पाटीमा केरमेट गरेको अवस्था छ भने त्यहाँभित्रको पढाइलेखाइ राम्रो हुँदैन।

यदि कक्षामा अघिल्लो विषय पढाउने शिक्षकले कक्षा सकिएर फर्कंदा चकले लेखेर नमेटी जानुभएको रहेछ भने त्यसलाई मेट्ने, कक्षाको भद्रगोल मिलाउने र सफा बनाएपछि शिक्षण गरियो भने मात्र प्रभावकारी शिक्षण हुन सक्छ। अनुशासन कक्षा व्यवस्थापनको अर्को महत्वपूर्ण विषय हो। बालबालिका शिक्षक कक्षामा प्रवेश गर्नासाथ उठेर अभिवादन गर्दै अध्ययनको तयारी गर्नुपर्दछ।

कक्षाभित्र शिक्षक पस्नासाथ सबै विद्यार्थीलाई कापी, कलम, किताब, गृहकार्य सबै अगाडि राखी नयाँ पाठ पढ्नका लागि तयार पार्नुपर्दछ। कक्षामा साना–साना विषयलाई पनि अत्यन्त अनुशासनमा रही विद्यार्थीले पालन गर्ने वातावरण बनाउनुपर्दछ। यदि कुनै विद्यार्थीले गल्ती गर्दा अन्य साथीहरूले पोल लगाइदिने क्रममा पनि कक्षामा होहल्ला हुन्छ र पढाइलेखाइको वातावरण बिथोलिने गर्दछ।

त्यसो नहोस् भन्नका लागि बालबालिकालाई अर्काका गल्तीतिरभन्दा आफूले गर्ने कामतिर ध्यान दिन प्रेरित गर्नुपर्दछ। यदि पानी पिउन, शौचालयतिर जान अथवा अन्य केही आवश्यक काम गर्नु छ भने होहल्ला नगरी हात उठाएर अनुमति माग्न सिकाउन सकिन्छ। बालबालिकाले उत्तर दिँदा हात उठाएर क्रमैसित दिने बानी लगाउनुपर्दछ।

प्रश्न सोध्ने बेलामा सकेसम्म हरेक व्यक्तिलाई सम्बोधन गरी सोध्ने गरियो भने अनावश्यक हल्ला हुन पाउँदैन। कक्षा व्यवस्थापनका लागि नभई नहुने अर्को कुरा भनेको शिक्षामा क्रमिकता हो। यसलाई कक्षा संगठन पनि भनेर भनिन्छ।

यो भनेको हरेक कुरालाई शिक्षकले क्रमानुसार सिकाउनुपर्दछ। सबैभन्दा पहिला जस्तो प्रकारको पाठयोजना तय गरिएको छ त्यसको उद्देश्य पूरा गर्नका लागि क्रमशः शिक्षण सिकाइ क्रियाकलाप, मूल्यांकन, अभ्यास, गृहकार्यका हरेक पाटाहरूलाई एकपछि अर्कोको क्रममा अघि बढाइयो भने कक्षा व्यवस्थित हुन्छ। शिक्षक पनि अलमलिनुपर्दैन।

उद्देश्य कस्तो राख्ने ? कसरी पढाउने ? के–के सोधेर मूल्यांकन गर्ने ? कस्तो अभ्यास गराउने ? कस्तो गृहकार्य दिने ? भन्ने कुराहरू स्पष्टसित क्रमिकतासाथ सम्पन्न गर्दा कक्षा प्रभावकारी हुन पुग्दछ। बालबालिका स्वभावैले चञ्चल हुन्छन्। उनीहरूले काम खोज्छन्।

जब कक्षामा बालबालिकाले कुनै काम पाउँदैनन् अथवा ती कुनै पनि विषयमा इन्गेज हुँदैनन् तब होहल्लातिर लाग्छन्। कोही कुराकानी गर्नतिर लाग्लान्, कोही यताउता हेर्न लाग्लान् त कोही कसैलाई चिमोट्ने, चिथोर्ने गर्न पुग्लान्। बालबालिकाले यसो गर्नुको अर्थ हामीलाई काम चाहियो भनेको हो।

असल शिक्षकले बालबालिकालाई सधैँ व्यस्त तुल्याउँछ, कक्षामा। पढ्ने, लेख्ने, बोल्ने वा अन्य कुनै कक्षाकार्यमा संलग्न गराउँदा पनि कक्षा व्यवस्थापन सुन्दर ढंगले भइरहेको हुन्छ। तसर्थ, कुनै न कुनै प्रकारको कक्षाकार्य वा कक्षामा उनीहरूको इन्गेजमेन्ट पनि कक्षा व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो।

कक्षा व्यवस्थापनको अर्को नभई नहुने विषय भनेको प्रभावकारी सञ्चार पनि हो। पढाउँदा बालबालिकासित शिक्षकले अन्तरक्रिया गरेको हुनुपर्दछ। हरेक बालबालिकामा दृष्टि पुगेको हुनुपर्दछ भने उनीहरूको भावना बुझेको हुुनुपर्दछ। हरेक बालबालिकालाई आफूले शिक्षण गर्दा वा भन्दा स्पष्ट भएको हुनुपर्दछ। त्यसका लागि हाम्रो आवाजमा पनि स्पष्टता आवश्यक हुन्छ।

हामीले पढाएको विषयवस्तुलाई हाम्रा बालबालिकाले स्पष्टसित बुझ्ने गरी भन्नुपर्दछ। अर्थात्, विषयवस्तुसम्बन्धी जु्न सूचना वा जानकारी छ त्यसलाई अत्यन्त प्रभावकारी तरिकाले राख्नुलाई नै प्रभावकारी सञ्चार भनेर भनिन्छ।

यही कुराकानीकै क्रममा शिक्षण र विषयवस्तुसम्बन्धी आवश्यक निर्देशन पनि दिन सकिन्छ। यसका लागि सबै बालबालिका भएका ठाउँमा पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिने र सूचना दिने वा स्पष्ट पार्ने काम गर्नुपर्दछ।

कक्षा व्यवस्थापनको अर्को महत्वपूर्ण विषय भनेको समयप्रतिको सचेतता हो। सामान्यतया हामीकहाँ एउटा विषय शिक्षणको समय ४५ मिनेट छ। कतै–कतै त ४० मिनेटको पनि बनाइएको हुन्छ। यदि ५ मिनेटमात्रै कक्षा ढिलो गयौँ वा ५ मिनेटमात्रै बढी समय लियौँ भने त्यसले कक्षा व्यवस्थापनमा नराम्रो असर पार्दछ। समयको यो दुरूपयोगले एक त हामी शिक्षकले आफ्नो विषयवस्तुलाई बुझाउन पर्याप्त समय पाउँदैनौँ, अर्को बालबालिका शिक्षकको अनुपस्थितिमा होहल्ला गरेर वातावरण प्रदूषित बनाउने काम गर्दैनन्।

तसर्थ, समयको उचित व्यवस्थापनका लागि सबै विषयलाई उचित तरिकाले सम्पादन गर्ने कला शिक्षकले सिक्नु अनिवार्य हुन्छ। समयमै सबै काम सक्नका लागि सानो र छोटो उद्देश्य बनाउने र त्यसै अनुसारको पाठयोजना तयार पार्नु राम्रो हुन्छ।

कक्षामा यदि कुनै बालिबालिका अलि बढी नै चकचके छन् वा बाहिरी कुरामा धेरै ध्यान दिने खालका छन् भने तिनलाई अन्य जिम्मेवारी प्रदान गरेर पनि होहल्ला कम गर्न सकिन्छ। यसबाट उनीहरूलाई नेतृत्व विकासको अवसर पनि सिर्जना हुन्छ भने अन्य कामहरू पूरा गर्न सहयोग मिल्दछ।

कक्षा व्यवस्थापनका लागि केही विशेष काम नियमित गर्ने गर्दा पनि अत्यन्त राम्रो हुन्छ। अभिवादन, तयारी, कक्षा स्मरण, पठनपाठन, अभ्यास, आजको प्रस्तुतिजस्ता शीर्षकका काम नियमित गराउन सकिन्छ। शुरूमा कक्षामा शिक्षक प्रवेश गरेपछि अभिवादन हुन्छ, त्यसपछि बालबालिकाले किताब, कापी, कलम, अघिल्लो दिनको गृहकार्य अगाडि राख्ने काम हुन्छ।

त्यसपछि क्रमाङ्कअनुसार कुनै एउटा विद्यार्थीलाई अघि बोलाएर अघिल्लो कक्षा स्मरण गर्न लगाउने। यसमा अघिल्लोपटक के पढिएको थियो भन्ने सन्दर्भमा कुनै एउटा विद्यार्थीले आफ्नो प्रस्तुति दिन्छ। त्यसपछि नियमित पठनपाठनको काम हुन्छ। अनि अभ्यास, मूल्यांकन आदि सकिन्छ। अन्त्यमा, आजको कक्षा भन्ने विषयमा अर्को कुनै विद्यार्थीलाई कक्षामा पढिएका कुरा प्रस्तुत गर्न लगाउने।

यसले विषयवस्तुको ज्ञान पनि हुन्छ भने विद्यार्थीको प्रस्तुतिको क्षमता पनि बढेर जान्छ। यसो गर्दा विद्यर्थीहरूमा पनि विषयवस्तु राम्रोसँग केलाउन सक्ने क्षमताको विकास हुन्छ।

– सम्राट थापा, बसुन्धरा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्