अफताव आलम पक्राउ प्रकरणः सशस्त्र प्रहरीका तत्कालिन एसपी खोज्न रौतहट प्रहरीले मुख्यालय गुहार्‍यो


न्युज अफ नेपाल, काठमाडौं ।

बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ ।

अनुसन्धानका क्रममा तत्कालिन एसपी लामाको बयान लिनु पर्ने भए पनि उनी नभेटिएपछि सहयोग गरिदिन भन्दै प्रधान कार्यालयमा पत्राचार गरिएको हो ।

अनुसन्धान अधिकृतको पत्राचार अनुसार प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै इकाइहरुमा लामालाई खोज्न सहयोग गर्नू भनी पत्राचार गरेको एक प्रहरी अधिकारीले बताए ।

२०६४ चैत २७ गते बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोपमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमलगायतविरुद्ध अदालतमा मुद्दा दायर छ ।

प्रहरीका अनुसार पत्रपछि इन्टरपोल नेपालसँग पनि सहयोग मागिएको छ । तर, लामालाई मुद्दामा प्रतिवादी नबनाएकाले इन्टरपोलबाट कुनै प्रकृतिको नोटिस जारी हुने सम्भावना भने नरहेको इन्टपोलका एक अधिकृतले बताए ।

स्रोतका अनुसार लामा हङकङमा उपचारत छन् । सो घटना भएका बेला रौतहटमा प्रहरी प्रमुख रहेका नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेको भने टीकापुर घटनामा मृत्यु भइसकेको छ ।

बम विस्फोटका घटनाका घाइतेलाई प्रहरीकै संरक्षणमा जलाइएको चर्चा भइरहेका बेला अनुसन्धान अधिकृतले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, संघीय प्रहरी कार्यालयका डीआईजी किरण गौतम लगायतको बयान लिइसकेको छ ।