खप्तडमा पर्यटकका लागि आवास गृह बन्ने



विमल विष्ट, डोटी ।

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम धार्मिक क्षेत्र खप्तडमा सुबिधा सम्पन्न दुईवटा पर्यटक आवास गृह बन्ने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकहरुले खाने बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १२५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने भएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकलाई वास बस्न समस्या भयो भन्ने गुनासो आएपछि हामीले पर्यटन वर्ष २०२० लाई लक्षितगरी दुई वटा सुबिधा सम्पन्न आवास गृह वनाउने तयारी गरेका छौँ,चाडैनै आवस गृह बन्ने छन् ।” खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार खप्तड क्षेत्रमा १०० बेडको आवास गृह बन्ने छ भने खप्तड क्षेत्र जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको छ ।

आवासकालागि निकुञ्जले इस्टिमेट तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा बन्यजस्तु संरक्षण बिभागमा पठाई सकेको बताईएको छ । दुई वटै आवास गृहको कुल लागत पाँच करोड रहेको छ ।

चालु आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जका सहायक वार्डेन शाहले बताउनुभयो । उहाँले थप भन्नुभयो, “हामीले चालुआर्थिक वर्ष भित्रमै आवास गृह निर्माणकालागि योजना अघि बढाएका छौँ, बिभाग बाट पत्र आउनासाथ टेण्डर प्रक्रिया सुरु हुने छ ।”
आवास गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इन्जिनियर सचिन न्यौपानेले बताउनुभयो । उहाँले कात्तिक महिनाभित्रै टेन्डर आह्वान गर्ने तयारी भै रहेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा एका एक वृद्धि भएपछि पर्यटकलाई सुबिधा पु¥याउने उदेश्यले उक्त दुईवटा भवन निर्माण गरिन लागेकोे हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४०० नेपाली र ९ जना विदेशी पर्यटकहरु खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्