विराटनगरको ऋषिदेव समुदायमा १३ देखि १४ वर्षमै विवाह



सरोज यादव, विराटनगर ।

विवाहवारी २० वर्ष पारी भनी नेपालको संविधानमा उल्लेख गरिए पनि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको वडा नम्बर १६ का अधिकांश ऋषिदेव बस्तीमा १६ वर्ष पुग्न नपाउँदै विवाह हुने गरेको छ ।

एकातिर अशिक्षा र अर्कोतर्फ गरीबीका कारण सानैमा बाबुआमाले छोराछोरीको विवाह गरिदिने गरेको पाइएको हो । एकातिर न्यून आर्थिक अवस्था र अर्कोतर्फ अशिक्षाका कारणले छोरीहरुको विवाह सानै उमेरमा हुने गरेको पाइएको हो । विराटनगर महानगरपालिका वडा नम्बर १६ मा रहेको यो ऋषिदेव समुदायमा अधिकांश छोरीहरुको १३ देखि १४ वर्षमै विवाह हुने गरेको पाइएको छ । ऋषिदेव बस्तीकी २० वर्षीया रेखा ऋषिदेवका ४ सन्तान भइसकेका छन् । उहाँको आफनो विवाह १४ वर्षमा नै भएको बताउनुभयो ।

हाल उहाँ सानैमा विवाह भएकाले शारीरिक रुपमा पनि कमजोर देखिनुहुन्छ । यस्तै सोही समुदायकी जलसी ऋषिदेव अधिकांश छोरीहरुको १६ वर्ष पुग्न नपाउँदै विवाह हुने गरेको बताउनुहुन्छ । १६ वर्ष पुगेपछि छोरीहरु बूढा भए भन्ने मान्यता ऋषिदेव समुदायमा रहेकोे उहाँले बताउनुभयो । कलिलै उमेरमा विवाह गर्दा अधिकांश बस्तीका महिलाहरु खान नपाएका जस्ता कमजोर छन् । बस्तीमा भेटिएकी २७ वर्षीया जानकी ऋषिदेवले पनि १३ वर्षमा विवाह भएको बताउनुभयो । हाल उहाँका ५ वटा सन्तान छन् ।

जेठो सन्तानको उमेर १३ वर्ष पुगेको छ । उनीहरुका श्रीमान विभिन्न उद्योगमा काम गर्छन् भने उनीहरु बनीबुतो गरेर जीविकोपार्जन गर्ने गर्दछन् । अधिकांश आमा र बच्चा ख्याउटे देखिन्छन् । यसरी चाँडै विवाह गर्दा आमा र बच्चा दुवैको अवस्था राम्रो रहेको पाइँदैन भने उनीहरु विभिन्न प्रकारको जोखिममा पर्ने गर्दछन् । वडा नम्बर १६ का वडाध्यक्ष मनोज सुब्बाले विभिन्न जनचेतनाका कार्यहरु गरे पनि उनीहरुले आफ्नो संस्कार भन्दै सानै उमेरमा विवाह गरेको पाइएको बताउनु भयो ।

वालविवाह कानूनी रुपमा दण्डनीय र स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हो भन्ने विविभन्न सचेतनामूलक कार्यक्रम गरिएको छ उहाँने भन्नुभयो तर आफूहरुको परम्परा र संस्कृति भन्दै उनीहरुले विवाह गर्दे आएका छन । उहाँले पछिल्लो समय भने वालविवाह नभएको दावी गर्नुभयो ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह संख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ ।

नेपाल सरकारले बालविवाह रोक्न विभिन्न प्रकारका कार्यक्रमहरु ल्याए पनि अझै कम हुन सकेको छैन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु बालविवाह अन्त्य गर्न लागि परेको बताए पनि अहिले पनि कम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्