राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाउँछ : अध्यक्ष थापा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । राप्रपा मध्यपुर नगर कार्यसमितिले पार्टीका भक्तपुरका संस्थापक नेता समाजसेवी एबं संस्कृतिकर्मी स्व.लक्ष्मीभक्त लाखेको स्वर्गारोहणको ४५ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धान्जली सभामा बोल्दै अध्यक्ष थापाले उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष थापाले राजनीतिक आरोह अवरोहका क्रममा बिगतमा आन्तरिक कमजोरीका कारण राप्रपा कमजोर अबस्थामा पुगेको भएपनि देशको मौलिक धर्म संस्कृति,परम्परा,राष्ट्रियताप्रति प्रतिबद्ध रहने बैकल्पिक शक्तिको रुपमा उदाउने बताउनुभयो ।

थापाले जनताको अभिमतद्धारा संविधानको परिधिभित्रै रहेर राप्रपालाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गराउने बताउनुभयो ।अध्यक्ष थापाले राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएकाले अहिलेकै संविधानलाई स्विकार गर्दै जनतामाझ जाने बताउनुभयो ।

उहाँले जनताले राप्रपालाई राष्ट्रिय शक्तिका रुपमा देख्न चाहेको उल्लेख गर्नुभयो ।देशको अबस्था अहिले जटिल रहेको बताउँदै थापाले नेपालको धर्म संस्कृतिमा भईरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने भनाई राख्नुभयो ।

अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म माथि आक्रमण भईरहेको भन्दै उहाँले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भईरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान संचालन गरेको बताउदै उहाँले यो अभियान कुनै पार्टी वा धर्म बिरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको बताउनुभयो ।

धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नु पर्ने बेला आएको उहाँले बताउनु भयो ।आफ्नो देशको धर्म, संस्कृति, पहिचान र अस्तित्व संकटमा पर्दा पनि जनता चूप लागेर बस्न हुदैन भन्नुभयो ।

उहाँले परिवर्तनका नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त पारिएको राज संस्थालाई पाखा लगाइएको, एकात्मक देशलाई संघियतामा लादिएयो र देशमा अस्थिरता निम्ताउने काम भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौला,नरगोबिन्द शंखदेव,यवती कार्की, राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री, राप्रपा मध्यपुर नगर कार्यसमिति सभापति बिकास प्रजापति लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाएको भन्दै स्व.लक्ष्मीभक्तले पार्टी,समाज र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।