बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका ३ जेल चलान

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

भक्तपुरबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका ३ जना जेल चलान भएका छन् ।जेल चलान हुनेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुर थिमि नगरपालिका–९ बोडेमा डेराकोठा गरी बस्ने २५ वर्षीय संजय भन्ने राजेश गिरी, मध्यपुर थिमि नगरपालिका चपाचो घर भइ भई हाल बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई हाल बोडेमा डेरा कोठा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सबिना तामाङ (गुरुङ)रहेका छन् ।

उनीहरुलाई भक्तपुर जिल्ला अदालतले पूर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं चलान गरेको हो ।प्रजापतिले भाडामा लिएको घरमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई मादक पदार्थ सेवन गराई प्रभाव पारी प्रत्यक्ष आर्थिक फाईदा लिने गरेको खुलेको छ ।

बेश्यावृत्तीमा समेत लगाउने गरेको भन्ने भदौ २३ गते पीडितले दिएको जाहेरीको आधारमा सोही दिन प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धान कार्य सम्पन्न गरेपश्चात जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागी थुनामा राख्ने फैसला गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायक उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।