२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधी तथा पाखुराको नाप लिने कार्य एकसाथ सम्पन्न भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र कात्तिक ३ गते सो कार्यक्रम एक साथ सञ्चालन भएको थिए।

कार्यक्रमअन्तर्गत जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधी (अल्वान्डाजोल), छ महिनादेखि दुई वर्षभित्रका ४ लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिएको मन्त्रालयले जनाएको छ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ। भिटामिन ‘ए’ कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन भएका थिए।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए। मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ। ती कार्यक्रमका लागि करिब ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४ सय रुपियाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ। सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो। विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताउनुभयो।

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधी क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ। खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने गरिन्छ।

यसै गरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइनेछ। जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ। यसै गरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ।हाल पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन्।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ। बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ। ती राष्ट्रिय कार्यक्रम सफतापूर्वक सम्पन्न भएको मन्त्रालयले जनाएको छ।