विद्युतीय बस खरिद प्रक्रियामा ढिलाइ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। विद्युतीय बस खरिद प्रक्रियामा दिलाइ हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहे पनि त्यो पूरा गर्न सकेको छैन। पाँच महिना बितिसक्दा पनि सोचेजस्तो वा चाहेजस्तो प्रगति गर्न नसकेको मन्त्रालय स्रोतले बताएको छ।

मन्त्रालयले साझा यातायातसँग बस खरिद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ। गत असारमा नै विद्युतीय बस खरिदका लागि ३ अर्बको सेयर खरिद गरे पनि अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ।

चाँडो खरिद गर्नकै लागि सार्वजनिक खरिद प्रक्रियामा नगएर सरकारले ‘जीटूजी’ माध्यममार्फत गरिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताउनुभयो। यो माध्यमबाट खरिद गर्ने निर्णय भए पनि पाँच महिना बित्दासमेत मन्त्रालयले चाहेजस्तो प्रगति नपाइएको उहाँको भनाइ छ।

मन्त्रालयले चाहे जस्तो नतिजा नआएकाले खरिद प्रक्रियाबारे जानकारी मागे पनि खरिद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो। उहाँले मन्त्रीले पनि बस खरिद सकेसम्म चाँडो होस् भन्ने चाहनुभएको बताउनुभयो।

विद्युतीय बस खरिदकै लागि तीनै तहका सरकारले सहकारीको सेयर खरिद गरेका थिए। नेपाल सरकारले ३ अर्ब, प्रदेश नं ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले २ करोड ५० लाखको सेयर खरिद गरेका थिए।