बूढानीलकण्ठलाई उपाधि


नेपाल समाचारपत्र, काठमाडौं।बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित गर्यो।

बूढानीलकण्ठका रूपेश नापितले १९ अंक जोडे। बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे। कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे।

समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बीएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडीसीबाट वाक ओभर पाएको थियो। त्यस्तै बूढानीलकण्ठले एनसीएचएसलाई हराएको थियो।

विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे। बूढानीलकण्ठका रूपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

उनले ५ हजार नगद पुरस्कार पाए। असोज ४ गतेदेखि शुरू प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।