‘उत्तर कोरिया शान्ति प्रक्रियामा आउँछ’

0
Shares

काठमाडौं, (नेस)। उत्तर र दक्षिण कोरियाबीच वर्षौसम्म सम्बन्ध सुधार हुन नसेके पनि आगामी दिनमा भने यी मुलुकको मित्रता सकारात्मक दिशातर्फ अघि बढ्ने संकेत विकास भइरहेको विज्ञहरूले बताएका छन्।

लामो समयको अस्थिरता, भोकभरी र अभावलाई छिचोल्दै छोटो समयमा दक्षिणले हासिल गरेको आर्थिक समृद्धि उत्तरका लागि बलियो पाठ भएकाले सो मुलुक छिट्टै शान्ति प्रक्रियामा सामेल हुने उनीहरूको तर्क छ।

‘कोरियाली प्रायद्वीपमा भइरहेको परिवर्तन र यसले दक्षिण कोरियामा पारेको प्रभाव’ विषयक अन्तरक्रियाका वक्ताले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच गत वर्षदेखि विभिन्न चरणमा भएको भेटवार्ता शान्ति प्रक्रियाकै लागि भएको बताउनुभयो।

चिनियाँ राष्ट्रपति सी र उत्तरका नेता किम र दक्षिण र उत्तरका नेताबीचको संवाद र भेटवार्ता यही प्रयोजनका लागि भएको उहाँको भनाइ छ।

संयुक्त राष्ट्रसंघको कदमपश्चात उत्तर कोरिया विश्व र छिमेकी मुलुकसँग समेत अलगिँदै गएकाले सो मुलुक शान्ति प्रक्रियामा आउनुको विकल्प नभएको कार्यक्रमका अन्य वक्ताले बताए।

यद्यपि विनाशकारी हतियार र युद्धको दम्म सो मुलुकले लामो समयसम्म त्याग्न नचाहे पनि सबैसँग एक्लिँदै गएपछि वार्ताको विकल्प नभएको पत्रकार केशवप्रसाद पौडेलले बताउनुभयो।

उत्तर र दक्षिण कोरियाबीच पुनः एकीकरण सम्भव भए पनि छिमेकी मुलुकको स्वार्थले यस्तो अवधारणा भाँडिन सक्ने पौडेलसहितका वक्ताको भनाइ थियो।