चित्रमा किशोरीका समस्या


नेपाल समाचारपत्र, काठमाडौं।विभिन्न जिल्लाका किशोरीले आफ्नो समस्या र मुद्दालाई चित्रण गर्दै तयार पारेको कलाहरूको काठमाडौंमा प्रदर्शनी शुरु भएको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको प्रदर्शनीमा किशोरीले तयार पारेको १ सय ५० वटा प्रतिनिधित्वमूलक कला राखिएको छ।

प्लान इन्टरनेसनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा यो प्रदर्शनी ‘आर्ट इज पावर’ कार्यक्रमअन्तर्गत भएको हो।

काठमाडौंस्थित फिनिस, फ्रेन्च, जर्मन दूतावासले यो कार्यक्रम प्रवद्र्धनमा साझेदारी तथा आर्टसम्बन्धी अन्य संस्थाले किशोरीको चासोलाई सरोकारवालामाझ पुर्याउन कलाहरू तयार पार्न संयोजन गरेका थिए।

यो प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला भएका थिए, जसले पिछडिएका समुदायका किशोरीलाई उनीहरूको भावना कलाको माध्यमबाट व्यक्त गर्न, उनीहरूको आवाज नीति निर्मातासम्म पुर्याउन र असमानताविरुद्ध चेतना बढाउने मौका प्रदान गरेको थियो।

यसअघि सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्दाबारे अभिव्यक्त गर्न मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २ सय ३५ किशोरीले गत भाद्र महिनामा आयोजित कार्यशालामा भाग लिएका थिए।

कार्यशालामा सहभागी भएपछि उनीहरूले कलात्मक तरिकाबाट चित्र, कविता, गीत र शव्दहरूमार्फत् आफ्नो घर, विद्यालय, समुदाय र वरपर आफूहरूले भोगिरहेका समस्याबारे अभिव्यक्ति राखेका हुन्।

कार्यशालापश्चात् बालिका र किशोरीहरूले आफ्नो कला सृजना गरेका थिए। ती कलालाई समुदाय तहमा गरिएको प्रदर्शनीको स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, अभिभावक, शिक्षक, नागरिक समाजका सदस्य, सञ्चारकर्मीले अवलोकन गरेका थिए।

यो प्रदर्शनी प्लान इन्टरनेसनलको विश्वव्यापी अभियान गल्र्स गेट इक्वेलअन्तर्गत भएको हो। गत वर्ष शुरु भएको यो अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ। यो अभियान नेपालमा गत मार्च ८ का दिन शुभारम्भ भएको थियो।