‘जलवायु परिवर्तनसँग जुध्न सामूहिक हातेमालो जरुरी’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।जलवायु परिर्वतनका कारण विश्वव्यापी चुनौती सिर्जना भइरहेको अवस्थामा संकट समाधानका लागि गम्भिर बन्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वको ध्यानाकर्षण गराउनुभएको छ।

समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। अमेरिकाको न्युयोर्कमा जारी

संयुक्त राष्ट्रसंघ महासभाको ७४औं महासभामा जलवायु कार्यशिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो विचार व्यक्त गर्नुभएको हो।

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक प्रत्यक्ष प्रभावित भएको चर्चा गर्दै उहाँले अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो।

‘जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ’, मन्त्री बस्नेतले भन्नुभयो– ‘यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ।’

जलवायुको प्रभावले गरिब, साना र टापु मुलुक प्रभावति भएको उल्लेख गर्दै यसका लागि भइरहेका प्रयास मात्रै पर्याप्त नहुने उहाँको भनाइ थियो।

नेपालमा सामुदायिक वनमार्फत भएको संरक्षण अभ्यास विश्वका लागि उदाहरणीय बन्न सक्ने प्रसङ्ग जोड्दै मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो।