एसियाली प्रहरी सम्मेलन सम्पन्न


काठमाडौं, (नेस)। नेपाल प्रहरी र इन्टरनेसनल कमिटी अफ द रेडक्रसको संयुक्त आयोजनामा काठमाडौंमा सञ्चालित ३ दिने एसियाली प्रहरी सम्मेलन सम्पन्न भएको छ।

उक्त सम्मेलन समापनका अवसरमा बिहीबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनमा सहभागी उच्च सुरक्षा अधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।

सो अवसरमा उहाँले क्षेत्रीय तहमा मानव अधिकारको प्रवद्र्धन गर्दै कानुन कार्यान्वयन गर्न विस्तृत रणनीतिहरू तयार गरी लागू गर्न सम्मेलनमा भएका छलफल एवं एजेन्डाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

समाजलाई सुरक्षित बनाउन तथा रणनीतिकरूपमा एक–अर्कालाई सहयोग गर्न सबै सहभागी देशका उच्च सुरक्षा पदाधिकारी उत्साहित रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि गरिएका कार्य, अनुभव तथा सिकेका उत्तम अभ्यास सम्मेलनमार्फत एक–आपसमा आदान–प्रदान हुने तथा अपराधलाई क्षेत्रीयरूपमा नै निस्तेज पार्न थप सहयोग मिल्ने बताउनुभयो।

समकालीन चुनौती र अवरोधहरूको पहिचान, कानुनको शासन, कमान्ड व्यवस्थापन र समुदाय–प्रहरी साझेदारीले अख्तियार गरेको दृष्टिकोण सम्मिलित विभिन्न विषयमा छलफल भएको यस सम्मेलनका प्रतिबिम्बित आवाज र दृष्टिकोणले अन्य राष्ट्रहरूलाई पनि प्रेरणा दिने प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो।

सो अवसरमा आईसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलनको महत्व र सम्मेलनबाट प्राप्त निचोडहरू ज्यादै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीकोतर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त र थाइल्यान्डका पुलिस मेजर जनरल एपिचाट सरिवोन्याले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।सम्मेलनमा नेपालसमेत गरी १५ एसियन राष्ट्रहरूका २५ जना उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो।