नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

देशभर ५६ लाख ६० हजार २ सय १४ वटा शौचालय निर्माण


नेपाल समाचारपत्र, काठमाडौं। नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा हुने भएको छ। ७ सय ५३ वटा स्थानीय तह र ७७ वटै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेसँगै नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको हो।

२०६८ सालबाट शुरू भएको अभियानअन्तर्गत कास्की जिल्लालाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। खानेपानी मन्त्रालयका अनुसार देशभर ६० लाख घरधुरीमा ५६ लाख ६० हजार २ सय १४ वटा शौचालय निर्माण भएको छ।

काठमाडौंमा मात्र ४ लाख ३६ हजार ३ सय ४४ वटा शौचालय निर्माण भएको तथ्यांक रहेको छ।
खानेपानी मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले यही असोज १३ गते देश खुला दिसामुक्त राष्ट्र घोषण गर्ने कार्यक्रम रहेको बताउनुभयो।

सरकारले यस आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रममा देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा अघि बढ्ने नीति लिएको छ।नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेर आगामी दिनमा पूर्ण सरसफाइतर्फ अग्रसर हुने नीति सरकारले लिएको छ।

खानेपानी मन्त्रालयले स्वास्थ्य, शिक्षा, वातावरण, शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा खुला दिसामुक्त बनाउने अभियान अगाडि बढाएको थियो। खानेपानी मन्त्रालयले एक वर्षको वार्षिक बजेट बराबरको शौचालय नागरिकले स्वःस्फूर्तरूपमा निर्माण गरेको बताएको छ।

सातवटा प्रदेशअन्तर्गत प्रदेश नम्बर १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश नम्बर २ मा ९ लाख ३३ हजार, ६ सय ४९, प्रदेश नम्बर ३ मा १६ लाख २२ हजार १ सय १३, गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २ सय १०, प्रदेश नम्बर ५ मा ७ लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा ६ मा ३ लाख ७ हजार ९ सय ६५, सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १५ घरघुरीमा शौचालय निर्माण भएको छ।