हेल्थ एन्ड ब्युटी एक्स्पो हुँदै


काठमाडौं, (नेस)। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आउँदो मंसिर ५ गते हेल्थ एन्ड ब्युटी एक्स्पो नेपाल–२०१९ आयोजना हुने भएको छ। ब्रान्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो ३ दिनसम्म चल्नेछ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ब्रान्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले व्यक्तित्व विकास र आत्मविश्वास बढाउनसमेत मद्दत गर्ने शारीरिक तथा बौद्धिक सौन्दर्यमा सहयोग पुर्याउने उद्देश्यले सम्बन्धित सबैलाई एकैथलोमा भेला गरी वस्तु र सेवाबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘पछिल्लो समय मानिस सौन्दर्यप्रति संवेदनशील बन्दै गएको र बजारमा पनि थरीथरीका सौन्दर्य सामाग्री भित्रिरहेको सन्दर्भमा त्यसले हाम्रो बाहिरी सौन्दर्यका साथै स्वास्थ्य र करियरमै पनि असर पर्ने हुँदा त्यस्ता सामाग्रीबारे सही सूचना प्रदानगर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेका हौं।’

कार्यक्रममा आयोजक सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले नेपालको समग्र सौन्दर्य उद्योगलाई प्रोत्साहन गर्न एक्स्पो महत्वपूर्ण हुने बताउनुभयो।

छाला विशेषज्ञ डा. रूपक घिमिरेले स्वास्थ्य र सौन्दर्य एक–आपसमा जोडिएकाले यसबारे आम जनमानसमा सही सूचना दिन आवश्यक रहेको बताउनुभयो।

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले सौन्दर्य क्षेत्रको समग्र प्रवद्र्धनका लागि एक्स्पो महत्वपूर्ण हुने बताउनुभयो। महिलाको साथसाथै पुरुषहरू पनि पछिल्लो समय सौन्दर्य र सौन्दर्य सामाग्रीप्रति आकर्षित हुँदै गएको भन्दै उहाँले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको समग्र पहल आवश्यक रहेको बताउनुभयो।

एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसँग सम्बन्धित संस्थाहरू, मेकअप, स्पा एन्ड वेलनेस, व्यावसायिक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योग तथा ध्यान केन्द्रलगायतका गरी १ सयभन्दा बढी स्टल रहनेछन्। एकस्पोमा छाला विशेषज्ञहरूले छालासम्बन्धी रोगबारे जानकारीसमेत गराउने छन्।

एक्स्पोमा छाला विशेषज्ञहरूसमेत सहभागी गराई सेमिनारको पनि आयोजना गरिनेछ। लाइभ व्यान्डका साथै फेसन शो, योग तथा ध्यान, मेकअप सिकाइ, जुम्बा तथा एरोबिक्सलगायतको सेसन पनि राखिनेछ। सबै उमेर समूहलाई लक्षित गरी गर्न लागिएको एक्स्पोमा २ लाख बढीले भ्रमण गर्ने अपेक्षा आयोजकको रहेको छ।