एकैपटक चम्ल्याहाको जन्म


काठमाडौं, (नेस)एकैपटक चम्ल्याहा शिशुलाई जन्म दिएकी २७ वर्षीया खगित्रा शाहीको केस स्वास्थ्य विज्ञानमा निकै अनौठोरूपमा लिइएको छ।

काठमाडौंको सिनामंगलमा रहेको काठमाडांै मेडिकल कलेजमा धनगढीकी शाहीले बुधबार एकैपटक ३ छोरा र एक छोरी शल्यक्रिया गरी जन्माएको अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीले बताउनुभयो।

खत्री गर्भवती भएको पहिचानसँगै गरिएको भिडियो एक्सरेले ४ वटा बच्चा रहेको प्रमाणित भएको थियो। त्यसैले धनगढीमा उपचार गराउन कठिन हुने हुनाले २ महिनाअघि नै काठमाडांै रिफर गरिएको थियो।

झन्डै डेढ महिनादेखि केएमसीमा नियमित परीक्षण गराउँदै आएकी खत्रीलाई पछिल्लो समय उठबस गर्नलाई समेत कठिन थियो। त्यति नै बेला डेंगु ज्वरोसमेत आएको थियो।

त्यसैले ३४ हप्तामा नै खत्री र नवजात शिशुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी शल्यक्रिया गरी बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ। ‘सामान्य अवस्थामा चम्ल्याहा शिशुको जन्म दुर्लभ हो।

यस्तो अवस्था टेस्टट्युब बेबीमा भने देखिन्छ। कारण टेस्टट्युब बेबीका लागि धेरैवटा अण्डा पाठेघरमा राखिएको हुन्छ र एकभन्दा बढी हुर्कन सक्छ। तर, नर्मल बच्चा बस्दा यस्तो हुनु निकै अनौठो कुरा हो।’ –डा. चन्दा भन्नुहुन्छ।

‘खत्रीको यसअघि पहिलो सन्तान छोरी भएको र दोस्रो सन्तान नभएकाले सन्तानका लागि उपचार गराइरहेको भए पनि यो गर्भ प्राकृतिकरूपमै बसेको हो।’ –डा. चन्दा भन्नुहुन्छ।

३ शिशुको अवस्था सामान्य रहेको र १ मा भने समस्या रहेको अस्पतालले जनाएको छ। केएमसीको एनआईसीयू कक्षमा राखी ४ बच्चा र आमालाई पोस्ट अपरेटिभ वार्डमा राखी उपचार भइरहेको छ।

आमा र बच्चाहरूलाई उच्च निगरानीमा राखी उपचार गराइरहेको डा. चन्दाले जानकारी गराउनुभयो। शाहीका नवजात शिशुहरूको तौल १ केजी, १ दशमलब २ केजी, १ दशमलब ५ केजी र १ दशमलब ६ केजी छ।