फेरिँदै गणेश र भैरव फूलपातीमा साइत


ईश्वरराज ढकाल, काठमाडौं। जीवित देवताका रूपमा पुजिँदै आएका गणेश र भैरव परिवर्तन हुने भएका छन्। गुठी संस्थानले उमेर बढी भएपछि दुवै जीवित देवता परिवर्तन गर्न आग्रह गरेलगत्तै गणेश र भैरवको परिवर्तन गर्ने तयारी भएको हो।

२०६५ सालमा करिब ४ वर्षका दुई शाक्य वंशका कुमारलाई गणेश र भैरव छनोट गरिएको थियो। दुई जीवित देवता छनोट गरेको ११ वर्षपछि फूलपातीको दिन गुठी संस्थानले नयाँ भैरव र गणेश छनोट गर्न लागेको हो।

बुधबार गुठी संस्थानमा बसेको बैठकले फूलपातीसम्ममा दुवै जीवित देवता परिवर्तन गर्न शाक्य महाविहार संघलाई आग्रह गरेको हो।

गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाले उमेरका कारण बोक्न र रथमा राख्नसमेत समस्या पर्न थालेकाले परिवर्तन गर्न लागेको जानकारी दिनुभयो।

कुमारीको रजस्वला हुने अवस्थामा फेर्ने प्रचलन भए पनि भैरव र गणेशलाई कति उमेरमा परिवर्तन गर्ने भन्ने विषयमा मापदण्ड नभएकाले समस्या भएको उहाँको भनाइ छ।

उहाँका अनुसार महाविहारले छनोट गरेका कुमार केटोको नाम सिफारिस गरेपछि ज्योतिषले दुवै देवता छनोट गर्ने परम्परा रहेको छ।

‘यो पछि अब गणेश र भैरवलाई छनोट गर्न कार्यविधि बनाउनुपर्ने देखिएको छ, निश्चित समयमा परिवर्तन गर्न कार्यविधि बनाउने विषयमा छलफल भइरहेको छ।’ –उहाँको भनाइ छ।

हाल रहेका जीवित देवतामध्ये भैरवका रूपमा ओमबहाल श्रनक महाविहारका रुजन शाक्य र गणेशका रूपमा लगनस्थित विहारका संवेग शाक्य छन्।

अहिले गणेश र भैरवको उमेर करिब १४ वर्ष पुगेको छ। दुई देवता छनोट गर्ने प्रक्रिया हिजो बिहीबारदेखि शुरू भएको छ।

काठमाडौंमा रहेका करिब २८ वटा शाक्य विहारबाट करिब ५ वर्षका कुमारलार्ई १४ गतेभित्र नाम छनोट गर्न आग्रह गरिएको कुमारीघरका चिताइदार गौतम शाक्यले जानकारी दिनुभयो।

‘बुधबार भएको बैठकमा गणेश र भैरव छनोट गर्ने विधि शुरू गर्न गुठी संस्थानले आग्रह गरेपछि विधि पुर्याएर छनोट शुरू गरेका हांै।’ –शाक्यले भन्नुभयो।

उहाँका अनुसार फूलपातीमा दुवै जीवित देवता छनोट गर्ने अन्तिम तयारी भइरहेको छ। यदि यो फूतपातीभित्र छनोट नभए आउँदो दशैंमा छनोट भइसक्ने उहाँको भनाइ थियो।

गएको इन्द्रजात्रामा गणेश र भैरव अस्वाभाविकरूपमा ठूलो देखिएका कारण यो वर्षभित्र छनोट गर्न सबै सरोकारवालाले आग्रह गरेपछि प्रक्रिया शुरू गरिएको गुठी संस्थानका प्रवक्ता थपलियाले बताउनुभयो।

‘हामी दुई देवता छनोट गर्ने विषयमा बोर्डको बैठक बस्दै छौं, बोर्डले अनुमोदन गरेपछि यो वर्षमै छनोट गर्ने बाटो खुल्नेछ।’ –उहाँले भन्नुभयो।

आउँदो फूलपातीमा दुवै देवता छनोट गर्ने गरी प्रक्रिया अघि बढाउन छनोट समितिका सदस्य एवं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो।

यही असोज १४ गते मंगलबार छनोटमा परेका गणेश र भैरवको चिना हेर्ने कार्यक्रम तय भएको छ। तलेजुमा रहेका जोशी नाइके र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीले चिना हेर्ने प्रचलन रहेको छ।

‘चिनामा भैरव र गणेशको जन्मकुण्डली, बालकको योग, गुण, दोष, दशाग्रहलगायतका सबै विधि अवलोकन गरिनेछ।’– पुजारी कर्माचार्यले भन्नुभयो।

छनोट समितिले सबै योग जुरेका दुई बालकको नाम गुठी संस्थानमा सिफारिस गर्ने र संस्थानले तलेजुका मूल पुजारीलाई विधि पूरा गर्न छनोट समितिलाई आग्रह गर्ने परम्परा रहेको छ।