सी विचारधारामा बहस गर्न छोड्नुस् : राजदूत होउ


काठमाडौं, (नेस)।नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट पार्टीबीच भएको समझदारीको पक्ष/विपक्षमा विभिन्न किसिमका धारणा सार्वजनिक भइरहेका बेला चीनले आफ्ना मुलुकका राष्ट्राध्यक्ष सी चिन फिङको विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताएको छ।

आफ्नो देशले कहिल्यै विचार निर्यात नगरे पनि सी विचारधारा विगतमै स्थापित भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताउनुभएको छ।

चीन अध्ययन केन्द्रले सी जिन पिङ विचारधाराबारे बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत होउले यस्तो विचार व्यक्त गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले भन्नुभयो– ‘सी विचारधारा पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको छ, चीनले पहिले पनि विचार निर्यात गर्दैनथ्यो, अब पनि गर्दैन।’

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार भएको समझदारीलाई अन्यथा नबुझ्न आग्रह गर्दै उहाँले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने बताउनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको समझदारी र गोष्ठीलाई विपक्षी दल कांग्रेसलगायतका केही पार्टीले आपत्ति जनाएका छन्।

आलोचनातर्फ संकेत गर्दै राजदूत हाउले भन्नुभयो– ‘अन्यथा नलिनुहोस् विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधारा बहसको तातो विषय बनेको हो, सी विचारधाराबारे बहस गर्न छाडिदिनुस्।’