पाटनमा पर्यटक तान्न धिमे प्याखं

१ सय जना महिलाले धिमेको तालमा नाच्ने


न्यूज अफ नेपाल, ललितपुर ।
विश्व पर्यटन दिवसको अवसरमा भोलि शुक्रबार पाटन दरबार क्षेत्रमा १ सय जना महिलाले धिमे प्याखँ (नाच) देखाउने भएको छ ।

परम्परागत बाजागाजा, नाच र कलाकारहरुलाई व्यावसायिक बनाउनुपर्ने पक्षमा लामो समयदेखि पैरवी गर्दै आएको नृत्य तथा संगीत एकेडेमी नेपालले पाटन  पर्यटन विकास संस्थासगं सहकार्य गरि शुक्रबार साँझ सो नाच देखाउन लागेको हो । हरेक डिसेम्बर २७ तारिखका दिन विश्वभर विश्व पर्यटन दिवस मनाईने गरिन्छ ।

सो अवसरमा एकेडमीले सो कार्यक्रम तय गरेको हो । लामो समयदेखि सांस्कृतिक कार्यक्रम गर्दै आएको सन्र्दभमा एकेडमीले यस पटकको कार्यक्रम फरक बनाउने क्रममा सो नाच देखाउन लागिएको हो ।

धिमे नाच हेर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, जिल्लाका सांसद्, स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनका अधिकारीहरु आउने बताइएको छ ।

सो कार्यक्रमलाइ  पाटन संग्रहालय, ललितपुर महानगरपालिका– १६, ललितपुर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ यलले सहयाेग गरेकाे  एकेडमीका प्रमुख मोहन व्यञ्जनकारले जानकारी दिनुभयो ।

धिमे नाचमा विभिन्न सांस्कृतिक नाचहरुको सम्मिश्रण गरिएको छ । किराँतहरुको, सुदूरपश्चिममा प्रचलित देउडा नाचको झझल्को देखिने गरी नाचको संयोजन गरिएको प्रमुख ब्यञ्जनकारले जानकारी दिनुभयो ।

ललितपुरको संस्कृति प्रर्वद्धन मार्फत भिजिट नेपाल सन् २०२० लाई सफल पार्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको एकेडमीले जनाएको छ । त्यसैगरी सांस्कृतिक कार्यक्रममा चर्या नृत्य, विभिन्न परम्परागत बाजामा नयाँ किसिमको नृत्य पनि देखाईने छ ।

भिजिट नेपाललाई सफल बनाउन विभिन्न जातजातिको संस्कृति, भेषभूषा, खानाको विशेष महत्व देखाउने कार्यक्रमका उद्देश्य रहेको पनि प्रमुख ब्यञ्जनकारको भनाई रहेको छ । ‘कार्यक्रमले नयाँ पुस्ताका युवाहरुलाई हाम्रोे संस्कृतिको परिचय गराउने छ । संस्कृति संरक्षण र सम्वद्र्धनमा अग्रसर हुनका लागि प्रेरणा दिनेछ । ’ उहाँले भन्नुभयो । साेहि अवसरमा पर्यटकहरूलाइ पाटनका भित्री शहर घुमाउने यहाकाे परमपरागत बाजागाजा देखाउने कार्यक्रम रहेकाे पाटन पर्यटन विकास संस्थाका अध्यक्ष किरन श्रेष्ठले जानकारी गराउनुभयाे ।