काठमाडौंमा ‘आर्ट इज पावर’ प्रदर्शनीमा


न्युज अफ नेपाल, काठमाडौं ।

विभिन्न जिल्लाका किशोरीहरुले आफ्नो समस्या र मुद्दाहरुलाई चित्रण गर्दै तयार पारेको कलाहरुको काठमाडौंमा प्रदर्शनी शुरु भएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको प्रदर्शनीमा किशोरीले तयार पारेको १ सय ५० वटा प्रतिनिधित्वमूलक कलाहरुलाई राखिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा यो प्रदर्शनी ‘आर्ट इज पावर’ कार्यक्रम अन्तर्गत भएको हो । काठमाडौंस्थित फिनिस, फ्रेन्च, जर्मन दूतावासले यो कार्यक्रम प्रवद्र्धनमा साझेदारी तथा आर्टसम्बन्धी अन्य संस्थाहरुले किशोरीहरुको चासोलाई सरोकारवालामाझ पु¥याउन कलाहरु तयार पार्न संयोजन गरेका थिए ।

यो प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला भएका थिए, जसले पिछडिएका समुदायका किशोरीहरुलाई उनीहरुको भावना कलाको माध्यमबाट व्यक्त गर्न, उनीहरुको आवाज नीति निर्मातासम्म पु¥याउन र असमानताविरुद्ध चेतना बढाउने मौका प्रदान गरेको थियो ।

यसअघि सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्धाबारे अभिव्यक्त गर्न मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २ सय ३५ किशोरीहरुले गत भाद्र महिनामा आयोजित कार्यशालामा भाग लिएका थिए । कार्यशालामा सहभागी भएपछि उनीहरुले कलात्मक तरिकाबाट चित्र, कविता, गीत र शव्दहरुमार्फत् आफ्नो घर, विद्यालय, समुदाय र वरपर आफूहरुले भोगिरहेका समस्याबारे अभिव्यक्ति राखेका हुन् ।

कार्यशालापश्चात् बालिका र किशोरीहरुले आफ्नो कला सृजना गरेका थिए । ती कलाहरुलाई समुदाय तहमा गरिएको प्रदर्शनीको स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, अभिभावक, शिक्षक, नागरिक समाजका सदस्य, सञ्चारकर्मीले अवलोकन गरेका थिए ।

यो प्रदर्शनी प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत भएको हो । गत वर्ष शुरु भएको यो अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ । यो अभियान नेपालमा गत मार्च ८ का दिन शुभारम्भ भएको थियो ।