लुटपाट गर्दागर्दै चार जनालाई प्रहरीले गोली हानी समात्यो


न्युज अफ नेपाल, जनकपुर ।

जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका कार्यालयको गेटनजिक रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए । तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।