मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं र ललितपुरको विभिन्न स्थानबाट ४५ जना सडक बालबालिकाको गएराती उद्धार गरेको छ । राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले गएराती उद्धार गरेको हो ।

केन्द्रका प्रहरी निरिक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरोस भन्ने हेतुले उनीहरुको उद्धार गरिएको जानकारी दिनुभयो ।

‘सडक बालिबालिकाको उद्धार गर्ने नियमित काम नै हो तर अहिले डेङ्गु र स्क्रब टाइफस जस्ता रोगहरूको जोखिम छ ।’, उहाँले भन्नुभयो–‘सडक, गल्लि, फोहोर र खोलाका किनारहरूमा बस्ने सडक बालबालिका झन जोखिम हुने भएकोले उद्धार गरिएको हो ।’

परिषद र केन्द्रसहितको टोलीले रत्नपार्क, न्युरोड, बसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोक लगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उद्धार गरेको छ । ती तीन वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिका रहेको जनाएको छ ।

ती बालबालिकाहरु मध्ये व्यवसायीक यौन पेसामा लागेका, लागुऔषध दुव्र्यसनीमा फसेका, लागुऔषध ओसार पसारमा प्रगोग गरिएका, सडकमा अलपत्र परेका लगायतको उद्धार गरिएको जनाईएको छ ।

‘हामीले रत्नपार्कमा ग्राहक पर्खिरहेका यौन पेसामा लागेक बालिकाहरु थप जोखिममा पर्ने आशंकामा उद्धार गरेका छौँ । अहिले उनीहरु सुरक्षित छन् ।’, केन्द्रका प्रहरी निरिक्षक दाहालले बताउनुभयो ।

त्यस्तै उद्धारको क्रममा चरेस, गाँजाको ओसार पसारमा प्रयोग गरिएका केही बालकलाई समेत उक्त टोलीले ती बालकलाई जोखिम हुने आशंकामा उद्धार गरी सुरक्षित राखिएको छ ।

टोलीले प्रत्येक हप्ता जस्तो सडकमा जोखिममा रहेका बालबालिकाको उद्धार गर्दै आईरहेको छ । रात्रीकालिन र दिवा कार्यक्रम बनाएर टोली परिचालन हुने गर्दछ ।

परिषदसँग भएको तथ्यांक अनुसार हालसम्म एक हजार भन्दा बढी सडक बालबालिका उद्धार गरीसकेको छ भने साँढे पाँच सय बालबालिकालाई परिवारमा पुनर्मिलान गरिएको छ । त्यसतै बालबालिकालाई सीप समेत सिक्ने अबसर प्रदान गर्दै आईरहेको छ ।