बार्सिलोना जित्दा मेसी घाइते


मेड्रिड, (एजेन्सी)बार्सिलोनाले लालिगाअन्तर्गत मंगलबार राति भएको खेलमा जित हात पार्दा टोलीका स्टार खेलाडी लियोनल मेसी घाइते भएका छन्।नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले भिलारियललाई २–१ ले हराएको थियो।

भर्खरै मात्र फिफा अवार्ड जितेका मेसीलाई पहिलो हाफमै उपचार गराउनुपरेको थियो। उनको तिघ्रामा चोट परेको थियो। खेल्नै नसकेपछि उनको स्थानमा दोस्रो हाफमा ओयुस्माने डेम्बलेलाई मैदानमा उतारिएका थिए।

क्लबले सामान्य चोट भने पनि मेसीले आगामी गेटाफेविरुद्धको खेल गुमाउने जनाएको छ।बार्सिलोनाका लागि छैटौं मिनेटमा एन्टोइन ग्रिजम्यानलाई मेसीले गोल गर्न सहयोगी भएका थिए। आर्थर मेलोले १५औं मिनेटमा गोल गरेर बार्सिलोनालाई २–० को सुरक्षित स्थितिमा राखेका थिए।

तर सान्टी काजोर्लाले ४४औं मिनेटमा एक गोल फर्काएका थिए। दोस्रो हाफमा गोल नभएपछि बार्सिलोनाले स्पष्ट तीन अंक जोड्न सफल भयो। यो जितसँगै बार्सिलोना अंकतालिकाको चौथो स्थानमा रहेको छ।

ला लिगामा हालै मात्र बढुवा भएको टोली ग्रानाडाले ६ खेलमा ११ अंकका साथ शीर्षस्थान कब्जा गरेको छ।

यति नै अंक जोडेका एथ्लेटिक बिलबाओ र रियल मेड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। तर बिलबाओ र रियलले ५/५ खेल खेलेका छन्। त्यस्तै बार्सिलोनाको ६ खेलमा १० अंक छ।

युभेन्टसको कठिन जित

युभेन्टसले सिरिज ‘ए’ अन्तर्गत खेलमा बे्रसियामाथि २–१ को कठिन जित हात पारेको छ। क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा भएको सो खेलमा बे्रसियाले एल्फ्रेडो डोनारुमाले चौथो मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो।

तर ४०औं मिनेटमा चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टस १–१ बराबरीमा पुगेको थियो। ६३औं मिनेटमा मिरालेम जानिचले गोल गरेर युभेन्टसलाई शीर्षस्थानमा पुर्याएका थिए।

युभेन्टस १३ अंंकसहित शीर्षस्थानमा उक्लियो भने इन्टर मिलान (१२ अंक) दोस्रो स्थानमा झरेको छ।