भलिबल उपाधि थाहानगरलाई


हेटौंडा, (नेस)।हेटौंडाको हटियामा सञ्चालित केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहानगर खेलकुद विकास समितिले जितेको छ।

उपाधि भिडन्तमा थाहानगरले बज्रबाराहीलाई २५–२३, २५–२१ र २६–२४ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपियाँ प्राप्त गरेका थिए। प्रतियोगितामा थाहानगरका सबिन कार्की उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार नगद प्राप्त गरे।

त्यस्तै थाहानगरकै किरण गिरी, सुशील र शंकर कार्की क्रमशः ब्लकर, सेटर र प्रशिक्षकमा उत्कृष्ट घोषित भए।

बज्रबाराहीका बलराम सुबेदी उत्कृष्ट स्पाइकर घोषित भए। उत्कृष्टले जनही २ हजार नगद हासिल गरेका थिए। प्रतियोगितामा जिल्लाका १३ टिमले सहभागिता जनाएका थिए।

हटिया स्पोर्टस् एकेडेमीले भलिबलका राष्ट्रिय प्रशिक्षक रहेकै समयमा २०७२ वैशाखको भूकम्पमा निधन भएका हेटौंडा निवासी केशबलाल श्रेष्ठको स्मृतिमा जिल्लास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको छ।