शीर्ष खेलाडीको जितबाट शुरुआत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। योनेक्स सनराइज अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रिय सिरिजमा नेपालका शीर्ष खेलाडीहरूले जितबाट शुरूआत गरेका छन्।बुधबार पहिलो दिन दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालका प्रिन्स दाहाल, विकास श्रेष्ठ, नङसल तामाङ, रत्नजीत तामाङ र दिपेश धामीले जित हात पारेका हुन्।

पुरुष एकलतर्फ विकासले नेपालकै रुकेश महर्जनलाई २१–८, २१–१४ ले हराए। त्यस्तै प्रिन्सले भारतका अमेया आकालाई पहिलो सेट हारेर जित हासिल गरेका थिए। उनले सो खेल २१–२३, २१–१४, २१–१६ ले जितेका थिए।

यसैगरी पुरुष एकलतर्फ रत्नजीतले भारतका शिशिर द्वीवेदीलाई २१–१५, २१–१६ को सोझो सेटमा पन्छाएका थिए। दिपेशले भने पनि भारतकै सहर्ष मोहनमाथि सोझो सेटको जित निकाले। उनले सो खेल २१–१२, २१–१९ ले आफ्नो पक्षमा पारेका थिए। पुरुषतर्फ जित हासिल गर्ने अन्य नेपाली खेलाडीमा नवीन श्रेष्ठ, विष्णु कटवाल, देवराज राणा रहेका छन्।

महिला एकलतर्फ नङसलले नेपालकै शोभा गौचनलाई २१–८, २१–११ ले हराइन्। त्यस्तै नेपालकी सीमा राजवंशीले नेपालकै मनिषा खड्कालाई पराजित गरिन्। नेपालकी सुनयना मुखियाले भारतकी शालीनी सुर्यकरण शुक्ललाई तीन सेटमा हराएकी थिइन्।

त्यस्तै सीता राईले भारतकी अनुभा कौशिकलाई हराएर अघि बढेकी छिन्। अन्यमा भने तारा आले, साफी खत्री, रञ्जना भट्ट, जेसिक गुरुङले हार बेहोरेका थिए।