कीर्तिपुर सेमिफाइनलमा


नेपाल समाचारपत्र, काठमाडौं।कीर्तिपुर पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।
चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा कीर्तिपुरले गोर्खा ब्वाइजलाई ६२–३४ ले पराजित गर्यो। कीर्तिपुर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। कीर्तिपुरका अनिल खड्गीले १७ अंक जोडे।
शुरूको क्वार्टरमा २१–५ ले अगाडि बढेको कीर्तिपुरले दोस्रोमा १९–६ र तेस्रोमा १४–१० को अग्रता लियो। चौथो तथा अन्तिम क्वार्टरमा कीर्तिपुर ८–१३ ले पछि पर्यो।
अन्य समूह चरणको खेलमा आइस वाकर र गोल्डेन गेटले जित हात पारे। आइस वाकरले एसडीसीलाई ६३–४२ ले हरायो।

आइस वाकरका नोर्बु गुरुङले ३१ अंक जोडे।गोल्डेन गेटले आयोजक बीएमकेमाथि ८०–६२ को जित दर्ता गर्यो। गोल्डेन गेटका विपीन महर्जनले २१ स्कोर गरे।