मेसी छैटौंपटक उत्कृष्ट खेलाडी


लन्डन, (एजेन्सी)। बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले उत्कृष्ट फिफा फुटबल अवार्डस्मा पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि जितेका छन्।

मिलानमा भएको अवार्ड समारोहमा मेसीले उत्कृष्ट हुन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डिएकलाई पराजित गरेका हुन्। योसँगै फिफा उत्कृष्ट खेलाडीको अवार्ड उनले ६ पटक हात पारेका छन्।

साथै प्रतिद्वन्द्वी रोनाल्डोभन्दा उनको एक अवार्ड बढी भएको छ। रोनाल्डोले उक्त अवार्ड ५ पटक जितेका छन्।

मेसीले यसअघि २००९, २०१०, २०११, २०१२ र २०१५ मा उपाधि हासिल गरेका थिए।

३२ वर्षीय अर्जेन्टिनी खेलाडी मेसीले २०१८–१९ मा बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाए भने च्याम्पियन्स लिगमा उनको टोली सेमिफाइनलबाटै बाहिरिएको थियो। त्यस्तै उनले ५८ खेलबाट कूल ५४ गोल गरेका थिए।

यसै गरी महिलातर्फ अमेरिकाकी फरवार्ड मेगान रापिनोईले २०१८–१९ को फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन्।

मेगानले हालै मात्रै पनि फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई दिलाएकी थिइन्। जसमा उनले सुनको बल र सुनको जुत्ता जितेकी थिइन्।

यस्तै लिभरपुलका प्रशिक्षक यर्जेन क्लोपले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोला र टोटनहामका प्रशिक्षक माउरिसियो पोकेटिनोलाई पछाडि पारेर उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे। क्लोपले गत सिजनमा लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।
कसले कति मत पाए ?
लियोनल मेसी (बार्सिलोना) ४६
भर्जिल भान डिएक (लिभरपुल) ३८

क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ३६

मोहम्मद सलाह (लिभरपुल) २६

साडियो माने (लिभरपुल) २३
क्लियन एमबाप्पे (पीएसजी) १७