नेपाल यू–१८ साफ च्याम्पियनसिपबाट बाहिरियो 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। दुई पटकको डिफेन्डिङ च्याम्पियन नेपाल राजधानीमै जारी साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ।उपाधिमाथि ह्याट्रिक गर्ने लक्ष्यका साथ प्रतियोगितामा प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको हो।
मंगलबार समूह ‘ए’ को अन्तिम खेलमा भुटान र माल्दिभ्सले बराबरी खेलेपछि नेपालको सेमिफाइनल पुग्ने आशा समाप्त भएको थियो। यद्दपि १ अंक मात्रै जोडेको नेपाल अन्तिम चारमा पुग्ने आसमा थियो।
यदि भुटानले माल्दिभ्सलाई ४–० ले हराएमा मात्रै नेपालको अन्तिम चार सम्भव हुने थियो। तर, भुटानले माल्दिभ्ससँग अंक बाँडेको थियो। योसँगै भुटान र माल्दिभ्स अन्तिम चारमा पुगेका छन्। समूह ‘बी’ बाट बंगलादेश अन्तिम चारमा पुगिसकेको छ।

नेपालले समूह चरणको पहिलो खेलमा माल्दिभ्ससँग १–१ बराबरी खेलेको थियो। यो नतिजापछि पनि नेपालका लागि अन्तिम चारमा पुग्ने सम्भावना थियो।

दोस्रो तथा अन्तिम खेलमा भने नेपालले भुटानसँग ३–० को अप्रत्यासित हार बेहोर्यो। यो हारले नै नेपाल प्रतियोगिताबाट लगभग बाहिरिसकेको थियो।

नेपालले भुटानसँग हार्नु आश्चर्यको नतिजासमेत हो। नेपालले हरेक उमेर समूहका प्रतियोगितामा प्रायःजसो भुटानलाई हराइरहेको छ।
यसै आधारमा पनि नेपालले भुटानलाई हराउने सम्भावना पनि थियो। तर, यसो भएन। प्रशिक्षक चेतनारायण श्रेष्ठले पनि भुटानको प्रदर्शन निकै राम्रो भएको मैदानमा मात्रै देखेको बताउनुभएको थियो।

प्रशिक्षक श्रेष्ठले राजीनामा पेस गर्ने भने पनि एन्फाको हातमा राजीनामापत्र नपरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो।