‘बीओकेका पूर्वसीईओ पक्राउ गर्नु गलत’


नेपाल समाचारपत्र, काठमाडौं। बैंकरहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले बैंक अफ काठमान्डू (बीओके)का पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ गलत भएको निष्कर्ष निकालेको छ।

मंगलबार बसेको एसोसिएसनको बैठकले पूर्व सीईओ श्रेष्ठ इमान्दार भएको र उनलाई हिरासत बाहिर नै राखि अनुसन्धान गरिनुपर्ने निष्कर्श निकालेको हो।

नक्कली धितोमा कर्जा प्रवाह गरेको आरोपमा गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठलाई पक्राउ गरेको थियो।

पक्राउपछि बैंकिङ क्षेत्र नै तरंगित भएको छ। पूर्वसीईओ पक्राउबारे आधिकारिक धारण तय गर्न मंगलबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत भेला भएका थिए । मंगलबारको बैठक मुलतः पूर्वसीईओ पक्राउबारे नै केन्द्रित भएको थियो।

मंगलबार बसेको बैठकले महान्यायधिवक्ता अग्नी खरेललाई भेटेर पूर्वसीईओ श्रेष्ठलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ।

यस्तै गल्ती नगर्दा पनि हिरासतमा जानुपर्ने अवस्था भएको निश्कर्ष निकाल्दै महान्यायधिवक्ता खरेललाई भेट गरी केही लचिलो हुन आग्रह गर्ने निर्णय गरेको बैंकर्स संघको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताउनुभयो।

महान्यायधिवक्ता खरेललाई भेट्ने जिम्मा बैंकर्स एसोसिएसनका अध्यक्ष ढुंगाना, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष ज्योति पाण्डेलाई दिइएको छ।

यस्तै नियमन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कानुन संशोधन गर्न समेत राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्य निकायहरूसँग छलफल गर्ने निर्णय भएको छ।

पूवैसीईओ श्रेष्ठसहित बैंक अफ काठमाडौंका अन्य पूर्व तथा बहालवाला कर्मचारी गरी करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरिसकेको छ। पूर्वसीईओ श्रेष्ठलाई बैंकको साढे दुई करोड ऋण अपचलन गरेको आरोप लागेको छ।