इन्डोनेसियाको वेस्ट पपुवामा हिंसा


जाकार्ता, (एजेन्सी)। अधिकांश उच्च माध्यमिक स्तरका विद्यार्थी सम्मिलित सयौं प्रदर्शनकारीले सोमबार एउटा शहरका भवनमा आगजनी गरेपछि तनावग्रस्त इन्डोनेसियाली क्षेत्र बेस्ट पपुवामा हिंसाको नयाँ श्रृंखला शुरू भएको छ।

यस घटनामा कम्तीमा तेइसजना मानिसको क्षेत्रीय राजधानी वामेनामा ज्यान गएको प्रहरीले जनाएको छ। मारिनेमध्ये केही बलिरहेका भवनभित्र फसेको बताइएको छ।

एकजना शिक्षकले जातियतालाई लिएर गरेको प्रतिक्रियालाई लिएर अचानक यो हिंसात्मक प्रदर्शन शुरू भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ तर प्रहरीले भने यो केबल अफवाह भएको दाबी गरेको छ।

यसअघि गत अगष्टमा पनि सो क्षेत्रमा थुप्रै साता हिंसा फैलिएको थियो। मंगलबार पनि हराइरहेका थुप्रै व्यक्तिको खोजीकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैगरी प्रान्तीय राजधानी जयापुरामा भएको अर्को छुट्टै घटनामा अन्य चारजनाको ज्यान गएको छ।

जयापुरामा आक्रोसित विद्यार्थीको भीडले एकजना सैनिक र प्रहरी अधिकारीमाथि ढुंगामुढा गर्दै धारिलो हतियार प्रहार गरेको सुरक्षाकर्मीले जनाएको छन्। गत महिना पनि जातियता सम्बन्धी विवादकै कारण विशाल प्रदर्शन भएपछि केहि दिन यो क्षेत्रमा शान्ति छाएको थियो।

स्वाधीनता दिवस मनाउने क्रममा सुरावाया स्थित पपुवान युनिभर्सिटीका विद्यार्थीले इन्डोनेसियाली झन्डा बिगारेको भन्दै राष्ट्रवादी समूहले आरोप लगाउन थालेपछि त्यसबेला हिंसात्मक प्रदर्शन चर्केको थियो। ती राष्ट्रवादी समूहले विद्यार्थीलाई कुकुर, सुँगुर र बाँदरको संज्ञा दिएका थिए।

वेस्ट पपुवाको एक पृथकतावादी समूहका प्रवक्ताले सोमबार एकजना शिक्षकको जातियतामाथि आँच आउने किसिमले टिप्पणी गरेपछि वामेना र जयपुरामा आक्रामक घटना भएको दाबी गरेका छन् तर प्रहरीले भने विभिन्न विद्यालयका छात्रछात्राबीच भएको झगडाबाटै विकराल हिंसाको रूप लिएको आरोप लगाएको छ।

स्थानीय सैनिक कमान्डर चन्द्र दियान्तोले केहीको जलेर मृत्यु भएको तथा केहीलाई घाँटी रेटेर मारिएको समाचार निकायलाई जानकारी दिएका छन्।घटनाको सिलसिलामा हिरासतमा लिइएका करिव सात सय मानिसलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिसकेको छ।