एक दर्जन सहसचिवको सरुवा


काठमाडौं, (नेस)।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकैपटक करिब एक दर्जन सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार एकैपटक ती सहसचिवको सरुवा गरेको हो।

मन्त्रालयको योजना महाशाखा र प्रवक्ताको जिम्मेवारी पाउनुभएका सहसचिव वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोग, मन्त्रालयका उच्च शिक्षा तथा प्राविधिक महाशाखाका प्रमुख डा. हरि लम्साललाई चिकित्सा शिक्षा आयोग, सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखा र विष्णुप्रसाद अधिकारीलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सरुवा गरिएको छ।

यस्तै सहसचिव दीपक शर्मालाई मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखा, भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न गठित केन्द्रीय आयोजना इकाइका प्रमुख इमनारायण श्रेष्ठलाई मन्त्रालय, शिक्षक सेवा आयोगका सहसचिव डा. तुल्सी थपलियालाई मन्त्रालय, इभेन्ट परियोजनाका निर्देशक केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सहसचिव खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रम कार्यालयमा सरुवा गरिएको छ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरण केसीका अनुसार एक वर्षअघि मन्त्रालय सरुवा भएका सहसचिव रामशरण सापकोटा र कृष्ण काप्रीलाई सरुवा नगर्ने मापदण्डका कारण कतै सरुवा गरिएको छैन।

साथै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेललाई पनि सरुवा गरिएको छैन।

यसैबीच सरुवा भएका सबै सहसचिवसँग सचिव महेशकुमार दाहालले एकवर्षे सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री पोखरेलले पद सम्हालेपछि यति धेरै सहसचिवको सरुवा गरेको हो पहिलोपटक हो।