सडक दुर्घटनामा ६ को मृत्यु


घनश्याम बगाले, नवलपरासी।बुटवल नारायणगढ सडक खण्डमा सोमबार राति छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५ जना कारमा सवार युवा र १ जना बसका चालक रहेका छन्।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार र पश्चिमबाट पूर्व आउँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रक राति सवा १० बजे कावासोती ८ खरकट्टा जंगलमा दुर्घटना हुँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो।

कार दुर्घटनामा परी मृत्यु हुनेमा देवचुली नगरपालिका–१ का ३५ वर्षीय दीपक भनिने पूर्णबहादुर विक, सोही ठाउँ निवासी २९ वर्षीय दिलबहादुर ढेंगा मगर, देवचुली–१० निवासी २० वर्षका दीपेश राना, २३ वर्षीया हीरा राना र कैलाली धनगढी–११ का सुरज राना मगर रहेका छन्।

त्यसै गरी मध्यविन्दु–१० अरुणखोला जंगलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ८६४२ नम्बरको यात्रुबस राति १ बजे सडक छेउमा दुर्घटना हुँदा मकवानपुर घर भएका ३५ वर्षीय बस चालक लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाङको बस दुर्घटनामा परी १५ यात्रु गम्भीर घाइते भएको र उनीहरूको नवलपुर र चितवनका अस्पतालमा उपचार भइरहेको छ।

यसरी नै सुर्खेतबाट वीरगन्जतर्फ आउँदै गरेको ना४ख ९५१० नम्बरको बस चोरमारा नजिक राजमार्गमा पल्टिँदा ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। सोमबार रातभर यस क्षेत्रमा मेघ गर्जनसहित पानी परेको स्थानीयले बताएका छन्।