नागरिक सहायता कक्ष स्थापना


काठमाडौं, (नेस)।यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

दशैं मान्न उपत्यका हुँदै गाउँ फर्किने यात्रुको टिकटलगायत यातयातमा सहजताका लागि सहायता कक्ष स्थापना गरेको हो।

आइतबार अग्रिम टिकट शुरू भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरू गरिए पनि मंगलबारबाट भने कलंकी र बल्खुमा कक्ष स्थापना भएको हो।

आज बुधबारबाट थप १४ स्थानमा कक्ष स्थापना गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो।
विभागले यात्रुलाई सहज होस् भनेर उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैंदेखि छठसम्म यस्तै कक्ष स्थापना गर्दै आएको छ।

यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरू भएको विभागका महानिर्देशक हमालले बताउनुभयो। विभागले मंगलबारसम्म २५ हजारभन्दा बढीले अग्रिम टिकट काटिसकेको जनाएको छ।