गोर्खा ब्वाइजलाई सफलता


नेपाल समाचारपत्र, काठमाडौं।गोर्खा ब्वाइजले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको सोमबार जित हात पारेको छ।गोर्खा ब्वाइजले अन्नपूर्णलाई ५५–५० ले पराजित गरेको हो।

टोलीको जितमा आयूष महर्जनले १७ अंक जोडेका थिए। पहिलो क्वाटरमा गोर्खा ब्वाइज १०–१२ ले पछि परेको थियो। त्यसपछिका दुई क्वाटरमा १५–११ र १९–९ अंकको अग्रता लिनु नै गोर्खाको लागि जितको आधार तयार भएको थियो।

जबकि चौथो क्वाटरमा अन्नपूर्णले १८–११ अंकले अग्रता लिएको थियो।विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगितामा बूढानीलकण्ठ, एसडीसी र कीर्तिपुरले जित हात पारे। बूढानीलकण्ठले आईस वाकरलाई ४६–४२ ले हरायो। टोलीको जितमा रूपेश नापितले १६ स्कोर गरे।

बूढानीलकण्ठ पहिलो क्वाटरमा १३–१५ ले पछि प¥यो भने अन्तिम क्वाटर १३–१३ को बराबरीमा सकिएको थियो। बूढानीलकण्ठले दोस्रोमा १०–८ र तेस्रोमा १०–६ को प्रदर्शन गर्दै जित सुनिश्चित गरेको थियो।

एसडीसीले आयोजक बीएमकेलाई ६१–४९ ले पाखा लगायो। एसडीसीका राजेश ठकुरीले २२ अंक जोडे। एनसीएचएस विरुद्धको खेलमा कीर्तिपुर ५९–४७ ले विजयी भयो। कीर्तिपुरका अनिल खड्गीले १४ अंक जोडे।